ब्रेकिंग न्युज

‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने अनुमान



काठमाडौँ २८ बैशाख । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । श्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने अनुमान गरिएको हो । चालु आवमा एक हजार २०० किमी सडक कालोपत्र र ३०० पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६३० किमी सडक कालोपत्र र १३२ पुल सम्पन्न भएको छ । अहिले देशभरमा २५० स्थानमा निर्माणको काम भइरहेको सडक विभागले जनाएको छ ।

     अहिले निर्माणका लागि आवश्यक सामग्रीको उत्पादन र ढुवानी सहज भएसँगै अझै केही स्थानमा निर्माणले गति लिने सम्भावना रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । मौसम अनुकूल भएमा केही सडक र पुल निर्माण सम्पन्न हुन सक्छ । विभागले दुई साता पहिले नै विभिन्न आयोजनामा निर्माण शुरु गरे पनि आवश्यक सामग्रीको अभावले अपेक्षाअनुसार काम हुन सकिरहेको थिएन । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

        तर, त्यो निर्णय कार्यान्वयन हुन अझै एक सातासम्म लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ काम शुरु भएर निर्माण नियमित आउन थालेपछि निर्माण अघि बढ्नेछ ।”पूर्वाधार निर्माणका लागि मौसम अनुकूल हुँदामात्रै काम गर्न सकिन्छ । यो महिनाको शुरुदेखि नै भइरहेको नियमित वर्षाका कारण काममा सहज नभएको महानिर्देशक शर्माले बताउनुभयो । त्यस्तै लकडाउन कहिलेसम्म जारी हुन्छ भन्नेमा पनि चालू आवमा कति निर्माण सकिन्छ भन्ने निर्धारण हुने उहाँले बताउनुभयो ।

        सरकारले लकडाउन हटाउँदा पनि आमनागरिकमा भय नहट्दासम्म काम गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले काम गर्न खुलाएरमात्रै हुँदैन, जनजीवन सामान्य अवस्थामा आउन अझै समय लाग्नसक्छ ।”विभागले अहिले उपलब्ध जनशक्ति र उपकरणबाटै निर्माण अघि बढाइरहेको महानिर्देशक शर्माले बताउनुभयो । मान्छेको स्वास्थ्यलाई ध्यानमा राखेर जनशक्तिभन्दा उपकरणको प्रयोगमा जोड दिइएको छ । कुनै एउटाखालको जनशक्ति घर फर्किएर गएको छ र ऊ सङ्क्रमण फैलिएको जिल्लाबाटै आउनुपर्ने भएमा तत्काल अर्को ठाउँमा लगेर काम गर्ने सम्भावना छैन । उहाँले भन्नुभयो, “त्यसैले सकेसम्म भएकै जनशक्तिबाट थोरै काम भइरहेको छ ।”

           हिजोआज नियमित वर्षा भइरहेकाले पनि लक्ष्यभन्दा कममात्रै निर्माण सम्पन्न हुने देखिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । अहिले विभागले वर्षा पहिले सम्पन्न नहुँदा वर्षाले क्षति पु¥याउने स्थानमा निर्माण अघि बढाएको छ । निर्माणाधीन पुलमा ढलानमात्रै गर्न बाँकी छ र वर्षामा त्यहाँ भएका सामग्री नै बगाउने अवस्था छ भने तिनलाई प्राथमिकता दिइएको छ । उहाँले भन्नुभयो, “अहिले मानव स्वास्थ्य महत्वपूर्ण भएकाले सम्भव भएका ठाउँमा काम भइरहेको छ ।”निर्माणाधीन कतिपय आयोजनामा कार्यरतमध्ये कतिपय भारतीय कामदार भए पनि अहिले उनीहरु आफ्नो देश फर्किसकेका छन् ।

               अहिले तत्काल उनीहरुलाई फर्काउने सम्भावना छैन । देशभित्रै पनि सङ्क्रमित जिल्लाका कामदार फर्काउन नसकिएको उपमहानिर्देशक सापकोटाले बताउनुभयो । प्रशासन कार्यालयले पनि सवारी पास सहज उपलब्ध गराइरहेको छैन । विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो ।

              महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ ।

         डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये थोरै अघि बढिरहेका छन् ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६