जेष्ठ ८, दाङ — अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गर्दै हिँड्ने कथित ज्योतिषी सिमान्त केसीद्वारा तुलसीपुरमा आयोजना गरिएको ४ दिने कार्यक्रमलाई प्रहरीले रोक लगाएको छ । दाङ लगायत छिमेकी जिल्लाबाट ३ सय बढी मानिस जम्मा गरेर आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका बेला प्रहरीले त्यस्तो कार्यक्रममा रोक लगाएको हो ।
हात, अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै भ्रम फैलाइएको पाइएपछि उक्त काममा रोक लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताउनुभएको छ ।
‘प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर उपचार गर्ने गलत प्रचारप्रसार गरिएको पाइएपछि त्यस्तो भेटघाट र कथित उपचारलाई रोकिएको हो,’ उनले भने, ‘उपचारका लागि भन्दै सल्यान, रोल्पा र बाँकेबाट समेत मानिस आएका थिए ।’ कतिपय अघिल्लो दिन नै तुलसीपुरमा आएर होटलमा बसेको पाइएको छ ।
उनीहरूले आइतबारदेखि चार दिनसम्म कार्यक्रम गर्ने तयारी गरिरहेका बेला रोकिदिएको डिएसपी मल्लले बताउनुभयो । प्रशासनको अनुमति नलिएर उपचारका नाममा मानिसको भीडभाड गरेको पाइएपछि उक्त कार्यक्रममा रोक लगाएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी राजनकुमार गौतमले बताउनुभयो ।
तुलसीपुरमा रोकेपछि केसी बाँकेको नेपालगन्जतर्फ गएको डिएसपी गौतमले बताउनुभयो । तुलसीपुरमा स्थानीयको एक समूह आयोजक बनेर केसीको उपचारबारे प्रचार गरेको पाइएको उहाले जानकारी दिनुभएको छ । प्रशासनको अनुमति नलिएर गलत काम गर्न थालेको पाइएपछि रोकेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।
प्रतिक्रिया