ब्रेकिंग न्युज

‘पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ’



सुदूरपश्चिम, २१ असोज
खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।

गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भन्नुभयो, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा पाकेर झुलिसकेको छ, मौसमको भर नहुँदा काट्न पाइरहेका छैनौ । कतिपय गाउँमा काटेर सुकाइएको धान वर्षाले भिजेर क्षति गरेको छ ।”

वडादसैँपछि तिहार पर्व मनाउने तयारीमा रहेका किसानलाई खेतमा पाकेर पहेलपुर भएको धानबालीलाई आकाशमा बाँदल लाग्ने गरेकाले कतिबेला काट्ने भन्ने चिन्ताले सताएको हो ।

मनसुनी वर्षाले तीन दिन अघिसम्म देशको मध्य तथा पूर्वी क्षेत्रमा धनजनको ठूलो क्षति पु¥याउँदा सुदूरपश्चिम प्रदेशमा भने समान्य मौसम थियो । गएराति कैलालीसहितका जिल्लामा वर्षा हुँदा किसानमा थप चिन्ता बढेको छ । 

वर्षा गराउने मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव यथावत रहँदा सुदूरपश्चिमका केही क्षेत्रमा वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको छ ।

‘‘फूलपातीका दिन काटेर खेतमै सुकाइ राखिएको बाली राति परेको पानीले भिजाएर क्षति पुग्यो,’’ अर्का किसान लक्ष्मण चौधरीले भन्नुभयो, ‘‘आकाशमा बाँदल मडारिने क्रम रोखिएको छैन, यसले पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ ।”

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धान बालीमा क्षति पुग्ने गरेको छ । किसान मानबहादुर चौधरी भन्नुभयो, “केही क्षेत्रमा रोककिराको समस्या देखिए पनि अधिकांश जग्गामा यसपालि धान राम्रो फल्ने देखिएको छ । पाकेको धान काटौँ भने भिज्ने डर छ, नकाटौँ भने खेतमै बिग्रिने त्रासमा छौँ ।” 

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार प्रदेशमा कूल एक लाख ८१ हजार तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने कगरेको छ । यसबाहेक कैलाली, कञ्चनपुरमा चैते धानखेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टर जग्गामा धानखेती हुने गरेको छ । 

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा,बैतडी, बझाङ, दार्चुला,र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार चार सय छ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिकटन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६