भोजपुर, १९ कात्तिक
हतुवागढी गाउँपालिका–१ कावाखोला किनारस्थित धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसार अभावमा ओझेलमा परेको छ ।
देवालय क्षेत्रमा गाउँपालिकाले संरक्षण र पूर्वाधार विकासका प्रयास प्रारम्भ गरे पनि यसको पर्याप्त प्रचारप्रसार भएको छैन । गाउँपालिकाले २०८० देखि नियमित पूजापाठ तथा मार्ग कृष्ण चतुर्दशीका दिन शतबीज छर्न थालिएसँगै यहाँको धार्मिक महत्व बढेको छ ।
हतुवागढी र रामप्रसादराई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतमा हरेक वर्ष सोही दिन मेला लाग्दै आएको थियो । माओवादी द्वन्द्वकालमा रोकिएको मेला पुनः सञ्चालन भएपछि देवालयको केही प्रचार भएको छ ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार गाउँपालिकाले यो स्थानको संरक्षणसँगै सडक तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामे बार पनि लगाइएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको छ । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।








प्रतिक्रिया