प्रदेश

लुम्बिनीः राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेसबाट तीनजना सिफारिस




रुपन्देही, ०९ माघ ।

लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ २५ गते हुने उप निर्वाचनका लागि नेपाली कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको छ । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसबाट दाङका वीर केशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् । आचार्य २०६४ सालमा हालका प्रधानमन्त्री प्रचण्डसँग संविधानसभा चुनावमा प्रतिस्पर्धी हुन् । बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । उनीहरुमध्येबाट १ जना उम्मेदवार बन्नेछन् ।

माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।

‘तीन जना मध्ये पार्टीमा गरेको योगदान, क्रियाशीलता र वरिष्ठताको आधारमा केन्द्रले एकजनालाई उम्मेदवार बनाउँछ,’सभापति पुनले भने । नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रसँग समन्वय गरेर सहमतिमै उम्मेदवारको टुंगो लगाउने बताए । ‘ प्रदेश तहमा सामान्य छलफल भएको छ तर केन्द्रीय नेतृत्वबाट आउने राय सुझाव र निर्देशनका आधारमा उम्मेदवार टुंगो लाग्छ’ कंडेलले भने ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १९१ स्थानमा जितेका छन् ।

त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा,नागरिक उन्मुक्तिले ४–४, जसपा,लोसपा,जनमतले ३–३, जनमोर्चा र नेकपा एसले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत छ ।

माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन भइसकेको छ । त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उपनिर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल करिब १ वर्षमात्रै हुनेछ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६