अर्थ-वाणिज्य

सहकारी संकटमा फस्दै गएपछि बचतकर्ताले रकम फिर्ता पाउन छाडे

शिव शिखर, सुप्रिम, आगन्तुक सहकारी टाट पल्दटै




बुटवल २० माघ । रुपन्देहीमा रहेका सहकारीहरु पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ । बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुक सहकारीहरुमा हाल बचतकर्ताहरुले रकम निकाल्न नपाएको चरम समस्या बाहिर आएको छ ।शिव शिखर सहकारीबाट पीडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आक्रोस पोख्दै सहकारीहरुले यसैगरी नागरिकको पैसा नदिएमा प्रेम प्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने बताए । उनले आफूले १० हजार रुपैयाँ समेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारीले अपाटमेन्टल स्टोर सञ्चालन गरेर पैसा लिन जानेहरुलाई सामान हातमा थमाएर पठाउने गरेको गुनासो गरे । यसैगरी अन्य सहकारीहरुमा समेत बचतकर्ताको रकम जोखिममा परेको गुनासो आउने गरेका छन् ।

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्याक्ष टिकाराम पोखरेले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरुमा समस्या देखिएकोले सरकारले कानूनी प्रक्रिया अगाडि बढाएको बताए । पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचत कर्ताको रकममा सञ्चालनहरुले चलखेल गर्दा यस्तो समस्या देखिएको उल्लेख गरे । सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताउँदै उनले त्यसका लागि आफूहरु गृहकार्यमा रहेको र छिटै देखिने गरी काम गर्ने प्रतिवद्धता गरे ।लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिम प्रसाद तिवारीले सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफू आएको दुई महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष पुगेर सुधार गर्न निर्देशन दिएको बताए । यद्यपी ती सहकारीका सञ्चालकहरुले अटेर गरेमा कानूनी दायरमा ल्याईनेगरी खवरदारी गरेको बताए । सहकारीको मुल्य मान्यता पालना नगरेको, गतल लेखा परीक्षण गरी सहकारी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको उनले जनाए।

उनले सहकारी उत्पादनमुलक काम गर्नु साटो पैसाको किनबेचमा लाग्दा समस्याग्रत भएको दाबी गरे।प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दावी गर्दै, कारोबारी सदस्य बनाएका सहकारीहरुमा समस्या रहेको सत्यता प्रष्ट्याए । त्यसैले अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशिघ्र समस्या समाधानमा लाग्न आग्रह गरे ।राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै, वित्तीय अनुशासन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा बढी गरेकाले सहकारीहरु धरापमा पर्न थालेको बताए । उनले सहरकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरुलाई फिर्ता गर्न नसकेको रहस्य खुलाए।

जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुँदा तथा आर्थिक सुशासन कार्यन्वयन नहुँदा सहकारीमा बथेति भएको बताए । उनले नागरिकको पैसा जोखिमा पर्न नदिनको लागि अब आफूहरु चुप लागेर नबस्ने बताए । बुटवल उपमहानगरपालिका अन्तरगत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको जिकिर जनाए । उनका अनुसार बुटवलमा ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेका छन् । तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र रहेका सहकारीहरुमा कुनै समस्या नभएको दावी गरे । तर नगरभित्र रहेको एक कल्पबृक्ष सहकारीमा समस्या रहेको पाईएको उल्लेख गरे ।

शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सहकारीमा देखिएका समस्या तथा बेथिती बारे चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले छिटै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिए । लुम्बिनी प्रदेशमा २०७७ को तथ्याङ्ग अनुसार ३ हजार ७५५ सहकारीमा ४२ अर्व लगानी, ६० अर्व निक्षेप र ६ अर्व सेयर पूँजी रहेको छ । त्यस यता अझै अद्यावधिक भएको छैन ।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६