रुपन्देही १४ फागुन ।चीनको उहान शहरबाट सुरु भएको कोरोना संक्रमणको प्रभाव अव बुटवल नारायणघाट सडक विस्तारमा पनि परेको छ । चीनबाट प्राविधिक र कामदान समयमै नआउँदा १ सय १३ किलोमिटर लामो उक्त आयोजना निर्माणमा विलम्ब भएको छ ।एक वर्ष अघि गत चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त सडक आयोजना निर्माणका लागि एक सय बढी प्राविधिक र कामदार चीनबाट ६ महिना अघि नेपाल आएका थिए ।
पछि चीनमा नयाँ वर्षको पूर्व सन्ध्यामा तीन महिना अघि चीन गएका चिनीयाँ प्राविधिक र कामदार कोरोना भाईरसका कारण नेपाल आउन सकेका छैनन । सडक निर्माण आयोजनाले चीन सरकारले आफ्ना देशका नागरिकलाई संक्रमणकै कारण बाहिरी देश पठाउन रोकेपछि त्यसको असर नेपालको सडक निर्माणमा परेको हो । यसअघि पनि चिनीयाँ प्राविधिक र उपकरण नआउँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ ।
कोरोना संक्रमणका कारण उक्त विमानस्थल निर्माणको काम करिव ६ महिना पछि धकेलिने आयोजनाका प्रमुख प्रवेश अधिकारले जानकारी दिनुभयो । दाउन्ने–गैडाकोट सडक खण्ड निर्माण साईटका प्रमुख सुजन अधिकारीले नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ प्राविधिक र कामदार नफर्किएपछि राजमार्ग निर्माण कार्य रोकिएको हो पुष्टी गर्नुभयो ।
नयाँ वर्ष मनाउन स्वदेश पुगेका वेला चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु नेपाल फर्कन समस्या भएको उहाँको भनाई छ । बुटवल नारायणगढ खण्डको १ सय १३ किलोमिटर खण्ड निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले गरिरहेको छ ।
कम्पनीका फिल्ड इञ्चार्ज लिन हुंग ताओसहित व्यवस्थापन हेर्ने १५ चिनियाँ नयाँ वर्ष मनाउन स्वदेश गएर नफर्किएका कारण निर्माण कार्य रोकिएको बताइएको छ । आगामी चार वर्षभित्रमा सडक विस्तार सक्ने योजनामाथि कोरोनाकै कारण विराम लाग्ने निश्चित भएको छ । शहरी क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनमा उक्त सडक निर्माण तथा विस्तारका लागि अहिले विद्युत पोल सार्ने र सडकको किनारमा रहेका रुखहरु नम्बरिङ गरी काट्ने काम भैरहेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया