भैरहवा, फागुन २७ गते । रुपन्देहीमा बेमौसमी वर्षाका कारण इटा उत्पादनमा ह्रास आएको छ । यो सिजनमा लगातार पानी परिरहेको कारण जिल्लामा विभिन्न समयमा गरी करिव १४ करोड मूल्य बराबरको काँचो इटा नष्ट भएको छ । रुपन्देहीमा ५२ वटा इटा उद्योग सञ्चालनमा छन् । इटा उद्योगहरुमा यसवर्ष उत्पादनका लागि तयारी अवस्थामा राखिएको काँचो इटा क्षति भएको लुम्बिनी इटा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । गत मंसिरदेखि फागुनसम्म विभिन्न समयमा परेको बेमौसमी वर्षाका कारण काँचो इटा क्षति भएकोले यसवर्ष इटा उत्पादनमा कमी आउने र उत्पादन लागत समेत बढ्ने हुँदा सम्पूर्ण व्यवसायीहरु मर्कामा परेको घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार अहिलेसम्म इटा उत्पादनमा ६० प्रतिशत गिरावट आएको छ । इटा व्यवसायीलाई धरासायी हुनबाट बचाउन चालु आर्थिक वर्ष २०७६/७७ मा माटोमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो । व्यवसायीहरुले विभिन्न उपाय अपनाएर काँचो इटा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनका लागि प्रयाप्त नभएको उद्योगीहरुको गुनासो छ । उता काँचो इटा नष्ट भएको बहाना वनाउँदै रुपन्देहीका इटा व्यवसायीले इटाको मूल्य प्रति गोटा १८ रुपैयाँसम्म पु¥याएका छन ।
प्रतिक्रिया