एजेन्सी, ९ चैत । विश्वभर फैलिएको कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ’जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको संख्या बढेर ३ सय ४१ पुगेको वि.वि.सी.ले जनाएको छ । आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित भएका हुन् । महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।
नेपालको सिमाना जोडिएको बिहार राज्यमा २ जना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको छ । राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो । ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ । उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।
प्रतिक्रिया