काठमाडौं, १० चैत । नेपाल सरकारले भारत र चीनतका सबै सीमा नाकामा यात्रु आवागमन कम्तीमा एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन । यसअघि भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो ।
नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । यसैबीच भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भन्नुभयो ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं ।’ लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णय लिइने उहाँले बताउनुभयो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान रोक्ने घोषणा गर्नुभएको थियो । देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि आजैबाट रोकिने छन् ।
प्रतिक्रिया