हुम्ला १४ चैत्र । कोडिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न दुई हुम्लीलाई प्रहरीले होम क्वारेनटाइनमा राख्ने काम गरेको छ । नेपालका विभिन्न स्थानीय नाकाहरु तथा प्रहरी चौकीलाई छल्दै भारतबाट आए पनि आफूहरु हवाई टिकट नपाई नेपालगञ्जबाट आएका हौँ भनी झुट बोल्दै हुम्ला पुगेका खार्पुनाथ गाउँपालिका–१ पिउसका एक र सोही पालिका कारङ्गगाउँका एक जनालाई पनि होम क्वारेन्टाइनमा राखिएको हो ।उनीहरु भारतबाट भागेर आएको प्रहरीले थाहा पाउनेबित्तिकै याङ्चु प्रहरीको टोली गएर होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसरी भारतबाट भागेर आएकाहरु गाउँ पुग्दा स्थानीयवासी त्रसित हुन पुगेको यहाँका स्थानीयवासीले बताएका छन् । गाउँपालिकामा भारत तथा नेपालका विभिन्न शहरबाट आउनेको लगत सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । जिल्लाका सातवटै गाउँपालिकाका सम्पूर्ण पालिका प्रमुख, वडा प्रमुख र वडा सदस्यलाई आफ्नो गाउँठाउँमा आफू परिचालित भई लकडाउनको पूर्ण पालना गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो ।
१४ चैत्र २०७६, शुक्रबार
प्रतिक्रिया