तिलोत्तमा १७ चैत । तिलोत्तमा नगरपालिकाले लकडाउनलाई कार्यान्वयन गराउने सन्दर्भमा अत्यावश्यक सामाग्री खरिद—बिक्रीका लागि समय निर्धारण गरेको छ । खासगरी साँझ र बिहानको समयमा अत्यावश्यक सामान खरिद गर्ने नाममा सडकमा मानिसको चहलपहल बढेको पाइएपछि त्यसलाई रोक्न नगरपालिकाले आजबाट लागु हुनेगरी समय निर्धारण गरेको हो ।नगरपालिकाले दुधको खरिद—बिक्रीका लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय तोकेको छ ।
यस्तै खाद्य, तरकारी, फलफूललगायतका अत्यावश्यक सामान खरिदका लागि बिहान ११ बजेदेखि २ बजेको समय निर्धारण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।तोकिएको समयमा व्यक्तिबीचको दुरी कम्तिमा तीन फिट कायम गरेर अत्यावश्यक सामानको खरिद—बिक्री गर्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ । व्यक्तिगत दुरी कायम नगराई सामान खरिद—बिक्री गरे—गराएको पाइएमा पसल समेत बन्द गराइने नगरपालिकाले चेतावनी दिएको छ ।
नगरपालिकाले तोकेको समयमा मात्र सामान खरिद—बिक्री गर्न सबैलाई आग्रह गर्दै अन्य समयमा पसल खोल्ने वा मानिसको चहलपहल भएको पाइएमा कारवाही हुने स्पष्ट पारेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि नगर क्षेत्रमा जनपथ, सशस्त्र र नगर प्रहरी परिचालन गरिएको नगर प्रमुख घिमिरेले बताउनुभयो । नगर प्रमुख घिमिरेले लकडाउनको प्रभावकारी कार्यान्वयनले कोरोना संक्रमण फैलनबाट रोक्ने भएकाले यो विषयलाई अत्यन्त संवेदनशील रुपमा लिन सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया