एजेन्सी, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड–१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो धारणा राख्नु भएको हो । कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना व्यापक छ । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै उल्लेख गर्नुभएको छ ।
कोरोनाले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी दिनुभयो । कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको बताउँदै समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको विश्वव्यापी प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले विशेष सतर्कता अपनाइरहेका छन् भने विश्व नै लकडाउनको अवस्थामा रहेको छ ।
प्रतिक्रिया