ब्रेकिंग न्युज

कोरोना अस्पत्ताल बुटवललाई पहिलो गास मै ढुंगा,थापाको उपचारमा लापरवाही भयो छानविन होस: सांसद



रुपन्देही २० चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षिय बाबुराम थापाको शव पाँच दिनसम्म पनि उठ्न सकेको छैन । मृतक परिवारले न्याय नपाएसम्म शव नउठाउने जनाएपछि उनको शव अहिलेपनि अस्पतालमै रहेको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै थापाकी पत्नी रिता थापाले न्याय नपाउँदासम्म शब नबुझ्ने अडान लिएकी छन् । 

           थापाको मृत्युका विषयमा छानवीन गर्न मुख्यमन्त्रीलाई समेत दवाव पर्दै गएको छ । संविधान सभाका सभासद विनोद पहाडी, प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघ संस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।दुवईबाट नेपाल आएपछि ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ मा बस्दै आएका थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । 

            बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालित अस्पतालमा भर्ना भएको चौथो दिन थापाको चैत १६ गते ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ ।यता कोभिड–१९ को जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत स्वास्थ्य परामर्श दिन थालेका छन् ।सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका ९ जना चिकित्सकले फोनमार्फत परामर्श दिन थालेका हुन् ।

          संघले गरेको आग्रह अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.बसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा. प्रेमप्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा. विनोद बरई, डा. दुर्गा खत्री र डा. अशोक धिताल तथा दन्त चिकित्सक डा.दिपेन्द्र पोख्रेलले फोनमार्फत बिरामीलाई परामर्श दिएर उपचारमा सहयोग पु¥याएका छन् ।

        हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार ९ जना चिकित्सकको मोबाइल नम्बर संघको फेसबुक पेज (हान रुपन्देही) मा राखिएको र उनीहरुले जुनसुकै बेला बिरामीको फोन रिसिभ गरेर निःशुल्क परामर्श दिने सहमति भएको छ । यता प्रदेश ५ का प्रदेश सभाका सांसदहरुले कोरोना अस्पतालमा चैत्र १६ गते भएको बाबुराम थापा क्षेत्रीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र पीडित परिवारलाई चित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समक्ष माग गरेका छन । प्रदेश सांसद रमा अर्याल र फकरुद्दीन खानले विहिवार एक ध्यानाकर्षण पत्र मुख्यमन्त्री पोखरेललाई इमेलमार्फत पठाउँदै तत्काल यो समस्या समाधान गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन । 

        ध्यानाकर्षण पत्रमा भनिएको छ—‘ज्वरो आएर भर्ना भएका बिरामी थापाको सही तरिकाले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको मृतककी पत्नी रीता थापा र स्वास्थ्य क्षेत्रका जानकारहरु स्वयंले बताइरहेको तथ्य कसैसामु छिपेको छैन ।’अस्पतालको आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएका ३४ वर्षीय बाबुराम थापाको १६ गते भएको मृत्युको भएको थियो । उनको कोरोना रिर्पाेट भने नेगेटिभ आएको थियो ।साँसद खानले पीडित परिवारलाई उचित राहत प्याकेज र दुई नाबालक छोराको शिक्षा दीक्षा एवं पालन पोषणको व्यवस्था गरी मृतकको शव उठ्ने वातावरण अविलम्ब बनाउन प्रदेश सरकारसंग माग गरेका छौैं भन्नुभयो ।

    बुटवल उपमहानगरपालिका र प्रदेश सरकार मातहतको लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालित उक्त अस्पतालमा अस्पतालमा हुनुपर्ने आधारभूत सुविधाहरु जस्तै भेन्टीलेटर, आइ.सी.यु. जस्ता उपकरणहरु जडान नै नगरी आइसोलेसन वार्ड सञ्चालन गर्नु, विरामी भर्ना लिनु गलत भएको ठहर गरिएको छ ।पत्रमा लेखिएको छ —‘कोरोना भाइरस संक्रमणको जोखिमका कारण देश लक डाउनमा रहेका बेला हामी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सोका सांसदहरु सरकारसंग समन्वय र सहकार्य गर्न तयार रहेका छौं ।’

    अस्पतालमा भर्ना भएका विरामीलाई चिकित्सक र स्वास्थ्यकर्मीले मानवीय व्यवहार समेत नगरेको, ज्वरो समेत विरामी आफैले नाप्नु परेको मृतककी श्रीमती रिताले बताउदै आएकी छन् । उनले निस्पक्ष छानवीन, दोषीलाई कारवाही र राहतको ग्यारेन्टी नभएसम्म शव नउठाउने अडान लिएकी छिन् ।  प्रदेश सरकारले पनि प्रमुख प्रतिपक्षी दल लगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलसंग हातेमालो गरेर अघि बढ्नुपर्ने सांसदहरुको भनाई छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६