एजेन्सी, २१ चैत । विश्वभर कोरोना संक्रमणको कहर बढ्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै २ लाख १२ हजार निको भएर घर फर्किएका छन् । कोरोना भाइरस अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।
अन्य देशको तुलनामा मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकी वैज्ञानिकहरुले मुसालाई कोराना भाइरस संक्रमण गराएर गरिएको भ्याक्सिन परीक्षणले सकारात्मकक नतिजा आउन थालेको बताएका छन् । वैज्ञानिकहरुले मुसामा गरिएको भ्याक्सिन परीक्षणले मुसाको शरीरमा सकारात्मक प्रभाव पार्दै गएकोले आशा जगाएको बताएका हुन् ।
प्रतिक्रिया