बुटवल २१ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरबासीलाई आग्रह गरेको छ । हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री–वितरण तथा उपभोग नगर्नु /नगराउनु हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमैं उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरबासीलाई भनेको छ । स्वदेशमैं उत्पादित कृषिउपज भीडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री–वितरण गर्नु नगरपालिकाले सबैलाई सूचित गरेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ ।
यस्तै दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । नगरवासीले स्थानीय स्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध गरेको सूचनामा उल्लेख छ । त्यसैगरी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा रकम जम्मा गर्ने अभियान तीव्र बनेको छ ।
शुक्रवार उक्त राहत कोषमा विभिन्न व्यवसायीहरुले रकम जम्मा गरेको नगरपालिकाले जनाएको छ । तिलोत्तमा चेम्बर अफ कमर्शको आह्वानमा तिलोत्तमा ५ का व्यवसायी ग्रिसमणि आचार्यले ५१ हजार रुपियाँ राहत कोषमा प्रदान गरेका छन् । उनले करिव ८ लाख सटरभाडा समेत मिनाहा गर्ने घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलले जानकारी दिनुभयो ।
त्यस्तै तिलोत्तमा ५ कै शोभाकर तिमिल्सेनाले १० हजार १५० रुपियाँ तिलोत्तमा राहत कोषमा प्रदान गर्नुका साथै ६५ हजार घरभाडा मिनाहा गरेका छन् । त्यस्तै तिलोत्तमा ५ कै प्रेम लाम्गादेले ५ हजार रुपियाँ राहत कोषमा प्रदान गरेका छन् । तीनैजनाले आज नगरप्रमुख वासुदेव घिमिरेलाई रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा नगरप्रमुख घिमिरेले राहत कोषमा रकम थपिंदै गएको बताउँदै यसले विपन्न वर्गलाई ठूलो सहयोग मिल्ने बताउनुभयो ।
प्रतिक्रिया