रामपुर, ३ वैशाख । बिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त रहने अधिकांश अहिले घरायसी काममा लाग्नुभएको छ । “बिहानसाँझ ट्युसन कक्षा र दिउँसो विद्यालयमा अध्यापनमै व्यस्त भइन्थ्यो तर लकडाउनले घरको काममा व्यस्त भएको छु”, तिमिल्सिनाले भन्नुभयो । उहाँले अहिले श्रीमतीलाई घरमा सघाउने, तरकारी लगाउने र गोडमेल गरेर लकडाउनको समय सदुपयोग गर्नुभएको छ ।
रामपुरकै कृष्ण सोमै पनि यतिबेला खेतबारीको काममा व्यस्त हुुनुहुन्छ । खेतमा गहुँ स्याहार्ने र मकै छर्ने काममा उहाँको दैनिकी बितेको छ । बिहान ५ देखि साँझ ७ बजेसम्म लगातार शिक्षण गर्ने सोमै भन्नुहुन्छ, “घरमा श्रीमती एक्लै, आफूले खेतीपाती लगाउने काममा कहिल्यै सहयोग गर्न पाइएकै थिएन, यस पटक भने उनीसँंगै घरायसी काममा खटिरहेको छु”, उहाँले भन्नुभयो ।
कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनको सदुपयोग गर्दै एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा जोड दिन घरमै पुगेर आग्रह गर्ने र बेलाबेलामा पढेनपढेको निगरानी गर्ने कार्यमा समेत शिक्षक जुटेका छन् । अहिले विद्यार्थीको रेखदेख र करेसाबारीको काममा नै आफ्नो समय बित्ने गरेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,“तरकारी लगायो, गोडमेल ग¥यो, विद्यार्थीले पढे वा पढेनन्, उनीहरुको निगरानी गरेर समय सदुपयोग गरिरहेको छु ।”
कतिपय शिक्षकले घरमै बसेर पनि परीक्षाको उत्तरपुस्तिका जाँच गर्ने विद्यालयका योजना बनाउने कार्य गरिरहेका छन् । लकडाउनको समय लम्बिदै जादा घरभित्रै बसेर विद्यालयका भावी योजना तयार पार्ने र विद्यार्थीको पढाइमा निरन्तरता दिन पृष्ठपोषण दिने काम भइरहेको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।–रासस
प्रतिक्रिया