अर्थ-वाणिज्य

लकडाउनले कुखुरापालक कृषक मारमा



तनहुँ ५ बैशाख ।  कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण तनहुँ जिल्लाका कुखुरापालक कृषक मर्कामा परेका छन् । लामो समयको लकडाउनका कारण कुखुरा र अण्डाको बिक्रीमा समस्या हुँदा पोल्ट्री व्यवसाय नै धारासायी बन्ने अवस्थामा पुगेको छ । लकडाउनका कारण घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका कृषक निराश बन्दै गएका छन् । तनहुँअण्डा सङ्घमा आबद्ध कृषकहरुले अण्डा उत्पादनका लागि ३ लाख ७६ हजार कुखुरा पालन गरिरहेका छन् । लकडाउनभन्दा पहिला दैनिक दुई लाख अण्डा उत्पादन हुने भएपनि अहिले मुस्किलले त्यसको आधा पनि अण्डा उत्पादन हुन नसकेको सङ्घका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो । दाना अभाव हुन थालेपछि अण्डा उत्पादन पनि घटेको उहाँको भनाइ छ ।

           “अण्डा उत्पादक कृषक अहिले समस्यामा परेको छ, अलि अलि उत्पादन भएको अण्डा पनि बिक्री हुँदैन,” उहाँले भन्नुभयो । श्रेष्ठको कुखुराफार्मबाट दैनिक तीन हजार १ सय ५० वटा अण्डा उत्पादन गर्ने गरेपनि लकडाउनपछि अण्डा उत्पादन पनि घट्न थालेको छ । “कुखुरा फार्ममै आएर सर्वसाधारणले अण्डा खरिद गर्ने बाहेक बजार पठाउन सकिएको छैन,” श्रेष्ठले भन्नुभयो, “अण्डा बिक्री नभएपनि कुखुरालाई दाना खुवाएर राख्नुपर्ने बाध्यता छ ।”लकडाउनका कारण अण्डा र कुखुरा बिक्री गर्न नसकिएको तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका कृष्णप्रसाद पुडासैनीले गुनासो गर्नुभयो । “६० दिन पाल्दा समेत लकडाउनले बजार ठप्प भएकाले कुखुरा बिक्री गर्न समस्या पर्दै आएको छ,” उहाँले भन्नुभयो, “दाना अभाव भएपछि घाटा व्यहोरेरै रु ९० प्रतिकिलोमा बिक्री गर्न बाध्य भएँ ।” उहाँका अनुसार दाना सकिएपछि खान नपाएर कुखुरा मर्न थालेको र कुखुराको बिजोग देख्नुभन्दा घाटा सहेरै पनि बिक्री गर्नुपरेको छ । 

      तीन हजार ब्रोइलर कुखुरा पाल्नुभएका उहाँलाई यो लटमा रु दश लाखभन्दा बढी घाटा परेको छ । पुडासैनीका अनुसार लकडाउनभन्दा पहिले प्रतिकिलो रु एक सय ७५ देखि रु दुई सय ६० सम्म कुखुरा विक्री हुने गर्दथ्यो । “बजार पूरै ठप्प छ, ४५ दिनपछि दानापानी खुवाएर पाल्नु भनेको घाटा सहनु हो,” पौडेलले भन्नुभयो, “बिक्री हुने आशामा किसानले ६५ दिनसम्म कुखुरा पाल्ने गरेका छन् ।” अण्डा उत्पादनको उद्देश्यले लेयर्स कुखुरा पाल्ने किसानको पीडा पनि उस्तै छ । लकडाउनका कारण बजार नखुलेपछि दुई सातादेखि अण्डा थन्काएर राख्नुपरेको भीमाद  नगरपालिकास्थित ठकुरी पोल्ट्रीफार्मका सञ्चालक मदन ठकुरीले बताउनुभयो । वैदेशिक रोजागारबाट फर्किएपछि तीन वर्षदेखि कुखुरापालनमा लाग्नुभएका उहाँको पोल्ट्रीफर्ममा ५ हजार ५ सय लेयर्स कुखुरा छन् । “लकडाउनले अण्डा बिक्री हुन सकेको छैन, अण्डा कुहिने बेला हुन लागिसक्यो,” उहाँको गुनासो छ । उहाँका अनुसार अण्डा बिक्रीबाट आएको रकमले कुखुरालाई आवश्यक दाना किन्नुपर्छ । अहिले अण्डा विक्री नभएपछि दाना पनि खरिद गर्न आर्थिक अभाव भएको उहाँले बताउनुभयो । उहाँका अनुसार रु ८० लाख लगानी जोखिममा परेको छ । गर्मीयाममा अण्डा धेरै दिन मौज्दात राख्न नसकिने बताउँदै उहाँले कोरोनाका कारण जिल्लाका पोल्ट्री व्यवसाय नै धारासायी हुने स्थितिमा पुगेको बताउनुभयो । 

  जिल्लामा कुखुरालाई खुवाउने दानाको अभाव पनि कायमै छ । मासुका लागि बिक्री गर्ने समय भएका कुखुरा सप्लायर्सले उठाउँदैनन् । पर्याप्त दाना नहुँदा कुखुरा मर्न थालेका छन् । जिल्लाका कृषकले ब्रोइलर, लेयर्स, गिरीराज, लोकल जातका कुुखुरा पाल्ने गरेका छन् । बजार क्षेत्रमा मासु र अण्डा खपत हुने भएपनि लकडाउनको प्रभावले सबै फ्रेस हाउस बन्द छन् । तनहुँका पोल्ट्री व्यवसायीले ह्याचरी उद्योगसँगै कुखुरा फार्ममा गरेको रु दुई अर्ब २५ करोड लगानी जोखिममा परेको बताएका छन् ।

स्रोत : रासस

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६