ब्रेकिंग न्युज

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन



कपिलवस्तु, ११ बैशाख । 

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ 

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

            उल्लेखित संस्कृत श्लोकले आमा अर्थात मातृ महिमा बोकेको स्पष्ट छ । आज वैशाख कृष्णपक्षको औंसी  यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीको दिन । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।

        हिन्दू शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । बिहानै उठेर नुहाएर आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ । आमाप्रति सम्मान प्रकट गर्न मानिसहरु आजको दिन आमा भएको स्थानमा जाने गर्दछन् ।

            लकडाउनका कारण माता तीर्थमा लाग्ने मेला र खुल्ने मन्दिरहरु भने प्रभावित भएका छन् । आमा दिवगत भएकाहरुले भने यस दिन काठमाडौं स्थित गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने चलन छ । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास गरिन्छ । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल पनि हो । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्नी आमालाई मुक्त गराउन सक्ने विश्वास गरिन्छ ।

        स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् श्रीराम वनवासका क्रममा स्थानीय बासिन्दासँग युद्ध गरेर प्यास लाग्दा गंगामाताको स्तुति गरी जमिनमा धनुष वाण प्रहार गरी पानीको कुण्ड बनेको प्रसंग पनि पुराणमा उल्लेख गरिएको छ ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६