बुटवल, १४ वैशाख । प्रदेश नं. ५ का तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ । दाङको घोराहीमा पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएसँगै प्रदेशका तीनै स्थानबाट पीसीआर परीक्षण थालिएको हो ।यो संगै कोरोना सुरक्षाका हिसावले प्रदेश ५ ग्रिनजोनमा सूचीकृत हुने तयारी पुरा भएको मान्न सकन्छि । त्यसो त अहिले सम्म एकजना पनि संक्रमित फेला नपरेकाले यो आफैमा ग्रिनजोनमा परेको मान्न सकिन्छ । खुला सिमाका कारण पहेलो जोनमा पर्ने आकलन बीच सबै तयारीले ग्रिन जोन तर्फ लम्कीएको प्रष्ट भएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि रुपन्देहीको भैरहवा र बाँकेको नेपालगञ्जमा पीसीआर परीक्षण सुरु भइसकेको छ । तीनै स्थानमा पीसीआर परीक्षण भएपनि परिक्षण निकै ढिला भएको गुनासो बढेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार भैरहवामा अहिलेसम्म जम्मा १५७ वटा स्वाब मात्रै परीक्षण गरिएको छ भने बाँकेमा ४० जनाको परीक्षण भएको छ । त्यसैगरी प्रदेश ५ बाट १२६ वटा स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दाङबाट समेत परीक्षण सुरु भएपछि अब प्रदेश ५ को कुनैपनि स्वाव परिक्षण काठमाण्डौं लैजानु नपर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दाङमा बैशाख १ गतेदेखि नै सुरु गर्ने भनिएपनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको बताइएको छ । पीसीआरमा एकै पटकमा ८० जनासम्मको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो ।
यसअघि स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । हालसम्म्र प्रदेशमा ३ सय २३ वटा स्वाब परीक्षण भएको छ । प्रदेशका दाङ, बाँके र रुपन्देहीमा गरेर २ सय २० शैयाका ४ वटा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालित छन् । प्रदेशका विभिन्न जिल्लामा १२ हजार ८ सय ९९ शैया क्षमता भएका ४ सय ६९ वटा क्वारेण्टाइन रहेका छन् ।
प्रतिक्रिया