विचार/ब्लग

सहजीकरण गर



‘अर्घाखाँचीले तराईको खासगरी कपिलवस्तुको तरकारी जिल्ला छिर्न नदिने निर्णय गरेको सुनेर दुखित र छक्क परेको छु । तराईलाई भारत र मधेशीलाई भारतीय जस्तो देख्नु भएन, अर्थात सम्मोबाट उकालो लाग्ने सवै भारतीय हुँदैनन् । भारतीय तरकारी नआओस् र जिल्लाकोले प्राथमिकता पाओस् भन्ने कुरालाई मेरो पनि सम्मान छ, तर ‘भारतीय रोक्ने’ भन्ने नसक्ने कामको नाममा कपिलवस्तु माथि अन्याय नगरौं । कपिलवस्तुको उत्पादन हो भन्ने कुरामा सुनिश्चित हुन पहिलो कपिलवस्तुका पालिकाबाट प्रमाणित गर्ने र त्यसलाई मान्न, दोस्रो अर्घाखाँचीका सहकारी आएर सीधै खेतैमा गाडी लोड गरेर लैजाने, तेस्रो कपिलवस्तुका सहकारीले नै पु¥याइदिने वा अरु कुनै सजिलो बाटो खोजौं ।

        अहिलेको युग अन्तर्राष्ट्रिय व्यापारको युग हो, त्यसैले हामीले भारत सहित दुनियाबाट नेपालमा औपचारिक र अनौपचारिक गरी बार्षिक रु ४०० अरब बढीको कृषिजन्य आयात गरेका छौं अन्तर्राष्ट्रिय कानुनले गर्दा रोक्न सक्तैनौं भने यता जिल्ला, पालिका रोक्नतिर नलागौं । बरु आफ्नो स्थानीय उत्पादनलाई अनेक सुविधा दिउ र प्रतिस्पर्धामा अगाडि ल्याउने काम गरौं, तर बाटो नरोकौं । ‘हाम्रो उत्पादन हाम्रा कृषक प्राणभन्दा प्यारा छन्’ ।’ प्रदेश नं। ५ का सांसद विष्णु पन्थीद्वारा फेसबूक मार्फत् संप्रेषित सुझाव हो यो । साह्रै मननीय र घतलाग्दो, सहयोगी र व्यवहारोपयोगी पनि छ । प्रयोग गर्दा हुन्छ सवैले, दम्भ प्रदर्शन नगरुन् कसैले ।

        सांसद पन्थीले अर्घाखाँचीलाई गरेको अनुरोध कपिलवस्तुकै वाणगंगा नगरपालिकामा पनि लागु होस् । अरु पालिका, जिल्ला, प्रदेश र विदेशको तरकारी आयातमा रोक लगाएको छ वाणगंगाले । पालिका आत्मनिर्भर हुनु र गराउनु जति जायज छ, उत्तिकै नाजायज छ छिमेकी पालिकाको उत्पादनमाथि प्रतिबन्ध लगाउनु पनि । कपिलवस्तुकै अन्य पालिकाले पनि भारततिरबाट कृषिजन्य उत्पादन आयात गर्नुभन्दा पहिले जिल्ला भित्रकै किन्नपर्ने, नपुगेपछि मात्रै अनि बल्ल सुरक्षा संयन्त्रको अनुमति लिएर आयात गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्छ । आफ्नै जिल्ला र पालिकाभित्रका किसानको तरकारीले बजार नपाउने, बाहिरबाट झिकाएर बिक्री गर्ने काम बन्द गराउनु पर्छ । अप्ठ्यारो परेका बेलामा कपिलवस्तुका किसानको तरकारी अर्घाखाँचीले किन्दैन, चिन्दैन भने, सजिलो बेलामा नदिए हुन्छ । एक माघले जाडो जाँदैन भन्ने कुरा पनि बुझ्न पर्छ । सवै खाद्यान्न, फलफुल र तरकारीमा आत्मनिर्भर छैन अर्घाखाँची । अर्घाखाँचीको प्रवेशद्वार हो कपिलवस्तु । मूल ढोका बन्द गर्न खोजेको हो र भित्रै रमाउने बाटो रोजेको हो भने पनि सोही अनुसारको व्यवहार होस् ।

        कपिलवस्तु र अर्घाखाँची त लेक र बेशीजस्ता हुन् । माथिबाट तल झर्दा कपिलवस्तुले प्रवेशनिषेध गर्ने र तलबाट माथि सर्दा अर्घाखाँचीले रोकेर काम चल्दैन दुवैको । यति सामान्य कुरा पनि नबुझेका मान्छेलाई जिम्मेवार जनप्रतिनिधि मान्न सकिदैन । कपिलवस्तुको तरकारी हो, हैन भन्ने बारेमा आफै आएर, हेरेर, बुझेर, खेतबाटै किनेर लैजान सकिन्छ नि १ प्रदेश र पालिकाभित्रको समस्या समाधानका लागि सहजीकरण गर्न पर्छ सरकारले । ढोका थुन्नु र थुनिनु जायज छैन । सहयोगको आदान–प्रदान गनुपर्ने बेला हो यो । स्थानीय र प्रदेश सरकारले सहजीकरण गरोस् छिट्टै, जनताका समस्यामा मूकदर्शक नबनोस् ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६