रोल्पा, १७ बैशाख । रोल्पा– कोभिड १९ नियन्त्रण र रोकथामका लागि रोल्पाका सामुदायिक वन उपभोक्ता समितिले स्थानीय तहलाई सहयोग गरेका छन् । हालसम्म गाउँपालिकाभित्रका सामुदायिक वनबाट लाखौँ मूल्यको चामल, दाल, साबुन र मास्क प्राप्त भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो ।
नुवागाउँस्थित सल्लेरी भित्ता सामुदायिक वन उपभोक्ता समूहले रु १५ हजार बराबरको सामान तथा ज्याडखोला सामुदायिक वन उपभोक्ता समूहले क्वारेन्टाइनमा आवश्यक सामान खरीदका लागिरु रु १४ हजार एक सय र गाउँपालिकाको कोरोना कोषमा रु ३४ हजार पाँच सय उपलब्ध गराएको वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरि देउराली सामुदायिक वन उपभोक्ता समूह रामीडाडाले १५० घरधुरीलाई मास्क र साबुुन वितरण गरेको छ । गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेका लागि दैनिक प्रतिव्यक्ति रु एक सयका दरले रासन दिने गरेको छ । क्वारेन्टाइनका लागि वन समूहले दाउरासमेत सहयोग गरेको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो ।
जिल्ला बाहिर गएकाहरु भित्रिने क्रम बढेसँगै गाउँपालिकालाई सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्न थालेका हुन् । रोजगारीका लागि अन्य जिल्ला तथा भारतमा गएकाहरु फर्किएपछि त्रिवेणी गाउँपालिकाभित्रका विद्यालय र सामुदायिक भवन भरिभराउ भएका छन् । गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बस्नेहरु एक हजार दुई सयभन्दा बढी रहेको गाउँपालिकाले जनाएको छ । (रासस)
प्रतिक्रिया