विचार/ब्लग

शिक्षामा रुपान्तरणको नयाँ अवसर



केहिदिन अघिको कुरा हो मेरो म्यासेन्जरमा एक जना विद्यार्थीको म्यासेज आयो जसमा अनलाइन कक्षामा आफु सहभागी हुन नसक्ने व्यहोरा उल्लेख थियो । 
मैलेतत्काल रिप्लाइ गरे: किन?
उनको जवाफ थियो : इन्टरनेट छैन । 
मैले तत्काल सोधें : म्यासेज कसरी गरिराछौ ?
उनी : अनुत्तरीत रहे ।     
            हाम्रो संवाद यहि रोकियो तर मेरो दिमाग भने रोकिन मानेन । हामी सँग स्रोत साधन र सिप भन्दा पनि सकारात्मक सोँच र परिवर्तनको अठोट गर्ने साहसको कमी छ । पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा अनलाइन शिक्षाका विषयमा विभिन्न खाले विचार र टिप्पणीहरुको भिडभाड नै छ । विश्व माहामारीको बर्बरताको लप्कोबाट नेपालपनि अछुतो छैन । यद्यपी उदाहरणीय बन्दाबन्दिको कार्यान्वयनले नियन्त्रण रेखा मजबुद देखिएको छ । यहि बन्दाबन्दिको कारणले अर्कातिर जनजीवन प्रभावित बनेको छ । जसमध्येको प्रमुख शिकार शिक्षा क्षेत्र बनेको छ । विद्यालय तथा क्याम्पस तहका आसन्न साथै संचालित परीक्षाहरु स्थगित भएका छन्, वार्षिक परीक्षाफल प्रकासनहुन सकेका छैनन् । नियमित नयाँ शैक्षिक सत्रका कक्षाहरु बेटुङ्गोमा गुज्रिएका छन् । यसै पृष्ठभुमीमा एउटा पुरानै तर प्रायगुमनाम जस्तै विषयले चर्चा पाउन थालेको छ । सामाजिक संजाल देखि आमसंचार माध्यमका कभर समाचार सम्म, प्रचारबाजीको उपकरण देखी आलोचनात्मक कबच सम्म चर्चाको विषय बनेको छ अनलाइन कक्षा । सुचना र प्रविधीको अधिकत मविकासले विश्वव्यापीकरणको प्रभावलाइ पनि अझ चुनौतिपुर्ण बनाएको छ । यो बढ्दो प्रभाव केवल चुनौतिमात्रै भने पक्कै पनि होइन यो एक चुनौतिपुर्ण सम्भावना पनि हो । विश्वव्यापीकरणको यो आयामलाइ आत्मसाथ गर्दै शिक्षा क्षेत्रमा यसका उपजहरुलाइ जोड्दै बहुआयामिक लाभ उठाउन हामी कदापी पछि पर्नु हुदैन । कुनै पनि बाहानामा यदि शिक्षालाइ प्रविधी संग जोड्न सकिएन भने विश्व बजारलाइ सिपबिहिन मानव संसाधन उत्पादनको कारखाना बन्नु सिवाय अरु कुनै पनि उपलब्धि हुने छैन । 

 

        कोरोना कहरको विकल्प सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा शिक्षण सिकाइको विकल्पको रुपमा देखा परेको अनलाइन शिक्षालाइ अबका दिनमा भने विकल्पका रुपमामात्रै सिमित राखिनु हुँदैन । यसलाइ नियमित र अनिवार्य शैक्षिक विधीको रुपमा अघि बढाउनु बाञ्छनीय हुन्छ । अनलाइन शिक्षा भन्नाले सामान्यता इन्टरनेटको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्ने भन्ने बुझिन्छ । यो दुर शिक्षाकै एक आयाम हो । नियमित कक्षामा औपचारीक ढगंबाट उपस्थित भइ शिक्षण सिकाइमा सहभागी हुन नसक्नेहरुकालागी लक्षित गरी दूर शिक्षा अन्र्तगतका विभिन्न विधीको प्रयोगगरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गरीएको घटना नेपालका लागी पनि नौलो भने पटक्कै होइनन् । पछिल्लो समयमा देखिएको इन्टरनेटको प्रयोगको बढ्दो दर र सामाजिक संजालप्रतिको अधिक मोह तथा भिडभाडयुक्त उपस्थितीले दूरशिक्षा अन्र्तगतको अनलाइन शिक्षालाइ विकल्पको रुपमा अघि सारिनु सान्दर्भिक साथै उपयुक्त कदम हो भन्न कत्ति पनि हिचकिचाउनु पर्दैन । नेपाल टेलिकम (२०१९) का अनुसार पनि नेपालको कुल जनसंख्याको ६३ प्रतिशत संग इन्टरनेटको पहुंच छ । जसमध्ये ७९ प्रतिशतले मोबाइलको माध्यमबाट इन्टरनेट प्रयोग गर्ने गरेको तथ्याङ्क छ । जसले नेपालको सन्दर्भमा अनलाइन शिक्षालाइ बिना तालको बाजाको संज्ञा दिने हरुलाइ गत्तिलो झापड दिन सक्छ । प्रस्तुत सम्भावना युक्त अवसरलाइ सदुपयोग गरीनु अनिवार्य छ । यसको अर्थ बिना कुनै पुर्वाधार विकास तथा संयोजन बिना अनलाइन शिक्षाको प्रभावकारीताको व्याख्यामामात्रै केन्द्रित हुनु भन्ने चाहिँ होइन ।

 

            एकातिर अनलाइन शिक्षाको अभ्यास र अर्कातिरबाट आवश्यकिय पुर्वाधार विकासमा योजनाबद्ध ढङ्गबाट अघि बढ्नु पर्दछ । सम्भावना अध्ययनलाइ स्रोत र साधनको उपलब्धता र प्रयोग सम्बन्धि सिपका आधारमा वर्गीकरण गरीनु पर्दछ । र पनि सिप भन्दापनि ठुलो समस्या स्रोत र साधनको उपलब्धता संगै जोडिन्छ । त्यसैले अनलाइन शिक्षामात्रै नभनेर दुर शिक्षाका अन्य आयामहरुलाइ समावेश गरेर अगाडि बढ्न सक्ने हो भने निकट भविष्यमै शिक्षण सिकाइको यो विधीको प्रयोग मार्फत समग्र शैक्षिक उपलब्धी बढाउन सकिन्छ । जसकोलागी विद्यार्थी एवं शिक्षकहरु संग इन्टरनेट, कम्प्युटर, एन्ड्रोइड मोबाइल तथा अन्य आवश्यकिय सुचना तथा संचार साधनको उपलब्धताको आधारमा विभाजन गरेर यसको थपविश्लेषण गरिनु तर्क संगत हुन्छ । 

समुह (क) इन्टरनेट , कम्प्यूटर तथा मोबाइल मा पहुँचभएका ।
समुह (ख) रेडियो र टि भि मा पहुँचभएका ।
समुह (ग) रेडियो टेलिभिजन दुवैमा पहुँचन भएका ।
      प्रस्तुत विभाजनका आधारमा समुह (क) मा जुनसुकै विधीबाट पनि दुरशिक्षाका कक्षा संचालन गर्न सकिन्छ । भर्चुअल, दुइद्वार संचार सहितका अनलाइन कक्षाहरुको संचालन गरी यी समुहका विद्यार्थी सम्म पुग्न सकिन्छ । यो समुहका विद्यार्थीहरुलाइ विभिन्न शैक्षिक सामाग्री संलग्न गरीएका मोबाइल एप हरु निर्माण गरेर अनलाइन शिक्षाप्रदान गर्ने सन्दर्भमा एक कदम अघि बढ्न सकिन्छ । वाणगंगा नगरपालिकाका सन्दर्भमा कुरा गर्ने हो भने सिद्धार्थ क्याम्पसले स्नातकोत्तर तहका विद्यार्थीलाइजुम सफ्टवयरको प्रयोग गरी अनलाइन विधिबाट कक्षा संचालन गरीराखेको छ । साथै अन्य विद्यालय तथा क्याम्पसहरुले पनि विभिन्न सफ्टवयरको प्रयोग गरि अनलाइनकक्षा संचालन गरेका छन । नयाँविधी र आधुनिक प्रविधीको प्रयोगका कारणले पनि विद्यार्थीहरुको रुची यस तर्फ निश्चित रुपमा बढ्दै जाने देखिन्छ ।

      समुह(ख) मा पर्ने विद्यार्थी शिक्षकहरु पनि यो खाले शिक्षा प्रणालीबाट अछुतो रहनु पर्दैन, विद्यमान अवस्थामापनि रेडियो तथा टेलिभिजनको माध्यमबाट विशेष पाठ्य योजनाको निर्माण गरी दुर शिक्षाको रुपमाकक्षा संचालन गर्न पहल गर्ने हो भने त्यत्ति ठुलो कठिनाइ आउँदैन । कपिलवस्तुको उत्तर पुर्वी क्षेत्रलाइ हेर्ने हो भने यो पद्धतीको अभ्यास स्वयम रेडियो तथा टेलिभिजन स्टेशनको र नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा सफलताका साथ संचालन भइराखेको छ । यहि पहल राज्य तहबाट कार्यक्रमिक रुपमाहुन सक्ने हो भने यसको प्रभावकारीता अभिवृद्धिमा कुनै सन्देह गर्नुपर्ने छैन । त्यत्तिमात्रै होइन यो समुह लाइउत्प्रेरीत गर्ने र राज्य तहबाट स्रोत साधनको उपलब्धताका सम्बन्धमा ठोस पहल गर्ने हो भने समुह (क)मा रुपान्तरण गरी अनलाइन शिक्षालाइ अघि बढाउन सकिन्छ ।

     समुह (ग) एउटा चुनौति अवश्य हो तर असम्भव भने होइन । राज्यको ठुलो धनराशी शिक्षाक्षेत्रको विकासका नाममा खर्च भैराखेका सन्दर्भमा विभिन्न शिर्षकमा स्थानीय तहबाट विनियोजित बजेटमा मात्रै भएपनि यो समुहको पहिचान गरी समेट्ने हो भने यो समुहपनि दुरशिक्षाको विकल्पबाट अछुतो रहनुपर्ने छैन । स्थानीय कुनै एक रेडियो स्टेशनबाट कक्षा संचालनको व्यवस्था गरी एक विद्यार्थी एक रेडियो सेट कार्यक्रम लागु गरे मात्रै पनि यो सपना साकार पार्न सक्छ । सहज परिस्थितीका लागी अतिरिक्त कक्षाको रुपमा र अहिलेकै जस्ता असहज परिस्थितीमा मुख्यकक्षाको रुपमा यस्तो कक्षा संचालन गर्न सकिन्छ । इन्टरनेटको प्रयोगबाट अनलाइन कक्षाको सम्भावना क्षिण रहेका स्थान हरुकालागी विज्ञ सम्मिलित टोलीद्वारा निर्मित पाठ्यक्रम र पाठयोजना अनुरुप रेडियो कक्षाको संचालनपनि अधिक प्रभावकारी हुन सक्छ ।

    यसरी आफुसंग भएका स्रोत र साधनको अधिकतम उपयोग गरी सम्भावित विकासका अवसर हासिलगर्दै अगाडि बढ्ने विधीको विकास गर्नु शिक्षा क्षेत्रको आजको मात्र नभइ आगामीदिनको पनि आवश्यकता हो । बद्लिँदो विश्व परिवेश र विकसित प्रतिस्पर्धात्मक युगकालागी मानव संसाधन विकासमा हामीले अब पनि उहि पुरानो शिक्षण विधी, संकुचित विषयवस्तुको पुच्छर छोपेर बैतर्णी तर्ने सपना देख्यौँ भने त्यो निरर्थक हुनेछ । कोरोना माहामारीले स्वास्थ्य क्षेत्रमा मात्र होइन हाम्रा आम जिवनशैली र अभ्यासका विषयमा पनि ठुलो संकटको जनाऊ घण्टी बजाएको छ । यो संकट सुचकले अर्को माहामारी ल्याउनु भन्दा अगाडि यो संकट मोचनका लागी प्रविधीको प्रयोग गरी सबै आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बेला आएको छ । 

 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६