ताप्लेजुङ, २१ बैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० सय बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट आठवटा जलेका थिए । व्यक्तिगततर्फ सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० सय रुपैया बराबर भएको प्रहरीको अनुमान गरेको छ । आगलागीबाट सातवटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको एउटा घर भत्काइएको थियो ।आठ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन् । आगलागीबाट छव टा संस्थाका कार्यालय तथा संरचनामा क्षति भएको छ ।
आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण सुरु गरेका छन् । फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामललगायतका खाद्यान्न वितरण गरेको छ । नगरपालिकाले पनि क्षतिको पूर्ण विवरण संकलनपछि मात्रै आफ्नो नियम अनुसार थप राहत प्रदान गर्ने भएको छ । नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बललगायतका सामग्री वितरण गरेको छ। यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था र न्यु कञ्चनजंघा सहकारी संस्थाले नगद सहयोग गरेका छन् । त्यस्तै जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया