विराटनगर, २२ बैशाख । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा विशेष केन्द्रित हुने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उहाँले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको थियो भन्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताउनु भएको हो ।
बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गरिने छ । “यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन ।” आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी प्रदेश मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो । प्रदेश सरकारले विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन गरीरहेको छ ।
प्रतिक्रिया