दाङ २३ बैशाख । दाङको एक घरमा चट्याङ पर्दा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं ११ नारायणपुर निवासी द्रोण केसीका घरमा आगलागी भएको हो । चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट करीब रु चार लाख बराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ ।
२३ बैशाख २०७७, मंगलबार
प्रतिक्रिया