बाँके, २४ बैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।
बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।
नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रतिक्रिया