ब्रेकिंग न्युज

सीमानामा ३ दिन देखि १३ सय नेपाली अलपत्र



कपिलवस्तु, २७ वैशाख
    भारतका विभिन्न स्थानबाट आएर नेपाल प्रवेश गर्न खोज्ने १३ सय नेपाली सीमाक्षेत्रमा अलपत्र परेका छन् । भारतमा मजदुरी गर्नेहरु लामो समय लकडाउन भएपछि नेपाल फर्किएका थिए । सोहि क्रममा सीमाना खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नदिएपछि उनीहरु विगत ३ दिन देखि दुई देशको सीमानामा अलपत्र छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार सबै भन्दा बढि मर्यादपुर नाकामा २९० जना सीमा क्षेत्रमा बसेका छन् । यसै गरि भील्मीमा २८६ जना, कृष्णनगरमा २५९ जना, हरदौना २५५ जना र चाकरचौडा ११६ जना छन् । यसै गरि हथिहवामा ४७ र विजयनगरमा ३० जना नेपाली दशगजामै बसेको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।
दशगजा क्षेत्रमा बसेका उनीहरुको स्वास्थ्य परिक्षण गरेर ल्याउने, क्वारेन्टाइन राख्ने वा भारतकै क्वारेन्टाइनमा पठाउने भन्नेमा छलफल भइरहेको बताइएको छ । सम्बन्धित जानकारी गृह मन्त्रालयमा पठाइएको र त्यहाबाट कुनै निर्देशन नआएकाले के गर्ने भन्ने निर्णय गर्न नसकिएको प्रशासनको भनाई छ । दशगजामा अलपत्रहरुले आफुहरु क्वारेन्टाइन बस्न र स्वास्थ्य जाँच गर्न तयार रहेको भन्दै नेपाल प्रवेश गराउन माग गरेका छन् । केहि व्यक्तिहरु रातीको समयमा लुकेर नेपाल प्रवेश गरेपनि आफुहरु भने सरकारको निर्देशन पर्खेको मर्यादपुरमा अलपत्र यशोधरा ७ का भिखु पासीले बताउनुभयो । “रातीमा शित पर्छ, जाडो हुन्छ, खान पाइदैन, शौचालय जादा दुबै देशका सुरक्षाकर्मीले भाग्न लागेको भनेर गोली हान्छन् कि भन्ने डर लाग्छ” उहाले भन्नुभयो ।



कांग्रेस युवा नेता प्रकाश घिमिरेले सीमानामा अलपत्र परेकाहरुलाई यथाशीघ्र नेपाल ल्याएर क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । सीमाका स्थानीय तहमा क्वारेन्टाइन नभए बाणगंगा, बुद्धभूमी, शिवराज नगरपालिका क्वारेन्टाइनमा राख्न र सुरक्षा सर्तकता अपनाउन माग गर्नुभयो । सरकारले कुनै पनि नागरिकलाई देश निकाला गर्न नपाउने भन्दै उनीहरुको व्यवस्थापन यथाशिघ्र गर्न आग्रह गर्नुभयो । शुक्रबार र शनिबार कपिलवस्तुको मायादेवी र शुद्धोधनमा भारतबाट आएर क्वारेन्टाइन बसेकाहरु मध्ये ५ जनामा कोरोना संक्रमण देखिएपछि सीमाक्षेत्रमा थप कडाई गरिएको र त्यहा रहेकाहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । गृह मन्त्रालयले थप कुनै निर्णय नगरे सम्म उनीहरुलाइ नेपाल भित्रयाउने व्यवस्था नहुने र उनीहरु त्यहि बस्नुपर्ने प्रजिअ दीर्घनारायण पौडेल बताउनुहुन्छ । “सीमामा अलपत्रहरुको व्यवस्थापन बारे आज दिनभरी सम्ममा केहि निर्णय आउन सक्छ” उहाले भन्नुभयो ।


प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६