एजेन्सी, २९ बैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८५० पुगेको छ । कोरोनाबाट संक्रमित हुनेहरु ४१ लाख ७९ हजार ८६१ पुगेका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको फैलन क्रम जारी रहेको छ । संक्रमितमध्ये १४ लाख ९० हजार ५५० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २३ लाख ५८ हजार ४२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार ३६ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार बढीको मृत्यु भइसको छ। संक्रमितको संख्या १६ लाख २८ हजार बढी पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ । सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।अमेरिकामा मृतकको संख्या ८० हजार ७८७ पुगेको छ भने कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने विश्वभर नै रोकिएको छैन । कोरोना कहरले विश्वकै जनजीवन प्रभावित बनाएको छ ।
प्रतिक्रिया