लहान, १ जेठ । प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो ।
हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ । ९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश नं २ मा बढ्दै गएको सङ्क्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ श्यया क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा रहेका छन् । खुला सीमानाका कारण प्रदेश २ कोरोना संक्रमितको उच्च जोखिममा रहेको छ । भारतले लकडाउनमा खुकुलो पारेसँगै प्रदेश २ मा लुकिछिपी आउनेहरु बढ्दै गएका छन् ।
प्रतिक्रिया