पाल्पा, २ जेठ । छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले शनिबार बिहान ५ देखि जेठ ५ गते सोमबार राति १२ बजेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
औषधि, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक वस्तुको गाडीबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योगव्यवसायसमेत सञ्चालन नगर्ने निर्णय बैठकले गरेको छ ।यसैबीच, जिल्लामा कोरोनाको सङ्क्रमणका बिरामीका लागि १२० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ । कोरोना रोकथामका लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा पचासपचास, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०÷१० शय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ । यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा कोरोना संक्रमण देखिएपछि पाल्पमा उच्च सतर्कता अपनाइएको हो ।
प्रतिक्रिया