काठमाडौं, ४ जेठ । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालमा आइतबार विहानसम्म २८१ जना संक्रमित भएका छन् । कोरोनाका कारण शनिार एक जनाको मृत्यु भएको छ भने अन्य ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यदि कोरोनाका कारण कसैको ज्यान गएमा विश्वको जुनसकुै देशमा पनि विशेष सावधानी अपनाएर शव व्यवस्थापन गरिन्छ । नेपालमा पनि शव व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । शवको सदगतको क्रममा विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयको कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तो छ कार्यविधि
– शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्छ, मृतकको धार्मिक परम्परा अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुसमेतलाई सुरक्षित राख्नु पर्नेछ ।
–कोरोनाको कारण मृत्यु भएकाको शव जथाभावी सदगत गर्न हुँदैन ।
– शवलाई कमभन्दा कम चलाउनुपर्छ ।
– शवलाई अस्पताल–घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्दछ ।
– शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।
– शवमा लागेका पाइप, केथेटरलगायतका सामग्रीहरु हटाइदिनुपर्छ ।
– शवलाई सफा गर्नु आवश्यक छैन ।
–शव अन्तिम संकार गर्ने स्थलतर्फ लैजान साधारण शवबाहनको प्रयोग गर्न सकिनेछ ।
– शवलाई जति सक्दो चाडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्छ ।
–शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष व्यागको आवश्यकता पर्ने छैन ।
– ६० वर्षभन्दा माथिका व्यक्तिहरु र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट पाउने छैनन ।
– सदगत गर्नुपूर्व आफ्नो कुल परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।
– मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न सक्नेछन् ।
– कोरोनाले मृत्यु भएको व्यक्तिको पोस्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाउनुपर्छ ।
– यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।
– कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ ।
– स्वास्थ्य सामग्रीहरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ ।
– पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेका सामग्रीहरु राम्रोसँग सफा गर्नुपर्दछ ।
प्रतिक्रिया