रौतहट, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज रौतहटमा बिहान पहिचान पुष्टि गरेका कोरोना भाइरस का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । रौतहटको राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको थियो ।
संक्रमितहरु केही दिनअघि मात्रै भारतको मुम्बइ लगायतका ठाउबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो । अहिले संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । आज १० जनामा कोराना पाुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।
यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावितको उपचारका कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै उपचार समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गर्नु भएको थियो ।
प्रतिक्रिया