बुटवल, ८ जेठ । रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्रामको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले उनको मृत्यु भएको बताउनुभयो ।यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ४४४ पुगेको छ भने ४५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया