भैरहवा, १३ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लकडाउन गरेको दुई महिना पूरा भइसक्यो । लकडाउन घोषणा भएपछि त्यसलाई पालना गर्दै नागरिक घरमै बसिरहेका छन् । लकडाउनको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । त्यस्तै बिरामी भएपछि लकडाउनमा पनि अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
अहिले अस्पताल वरपरका होटल पनि बन्द छन् तथा अस्पतालले सञ्चालन गर्ने क्यान्टिनले सबैलाई खाना पुग्दैन । जसका कारण विरामी र विरामी कुरुवालाई खान समस्या भइरहेको छ ।यही समस्यलाई मध्यनजर गर्दै श्री सत्य साई केन्द्र मेउडिहवा, भैरहवा अस्पताल परिसरमा निःशुल्क खाना खुवाउने अभियानमा लागेको छ । वैशाख १५ गतेदेखि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस) मा सुरु गरिएको खाना खुवाउने कार्यक्रममा हालसम्म ६ हजार बढीलाई खाना खुवाइएको श्री सत्य साई केन्द्र मेउडिहवाका अध्यक्ष चन्द्रिका लामाले बताउनु भयो ।
अस्पतालमा विभिन्न ठाउँबाट आउने विरामीहरुलाई खाना खाने समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क खाना खुवाइएको उहाँनले बताउनु भयो । खासगरी अस्पतालमा आउने विरामी तथा विरामी कुरुवालाई लक्षित गर्दै खाने खुवाइएको र आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ । हालसम्म युसिएमएसमा १४ पटक खाना खुवाइसकिएको श्री सत्य साई केन्द्र मेउडिहवाका शिक्षा संयोजक कमल श्रेष्ठले बताए । बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाउने श्री सत्य साई केन्द्रको अभियान प्रशंसनीय रहेको सामाजिक अभियन्ता प्रख्यात बञ्जाडे बताउँछन् ।
प्रतिक्रिया