लुम्बिनी

परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढ्यो



कपिलवस्तु १३ जेठ । कोरोना परीक्षणमा ढिलाई हुुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने क्रम बढेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले गुनासो गर्नुभएको छ ।१४ दिनको बसाइ पूरा गर्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।सोमबार राति साढे ९ बजे कपिलवस्तु नगरपालिका वडा– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ४२ जना १४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आक्रोशित हुँदै क्वारेन्टाइन छाडेर घर गएका थिए ।‘क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसक्यो, स्वाबको नमूना लगेको पनि कसैको आठ दिन, कसैको पाँच दिन पुग्दा पनि रिपोर्ट नआउँदा छटपटी लाग्नु स्वाभाविक हो’ प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘प्रदेश ५ को प्रयोगशालालाई धेरै नै चाप भयो, त्यसैले पनि जाँच गरेर रिपोर्ट पठाउन ढिला भयो होला तर क्वारेन्टाइनमा बस्नेहरुले यो कुरा भनेर मान्ने अवस्था भएन ।’

                      देशभरका क्वारेन्टाइनमा बसेकामध्ये आधा भन्दा बढी संख्या प्रदेश ५ मा रहेकाले यहाँ कोरोना परीक्षणको दायरा बढाउनुपर्ने प्रजिअ पौडेलले आवश्यकता औंउलायनुभयो । १४ दिन क्वारेन्टाइनमा बसिसक्दा समेत प्रयोगशालाले कोरोना टेस्टको रिपोर्ट दिन नसक्दा क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती आएको उहाँले बताउनुभयो । ‘भारतबाट फर्केर क्वारेन्टाइनमा बस्न आउने क्रम झन् बढ्दैछ’, उहाँले भन्नुभयो –‘प्रदेश र संघीय सरकारको तत्काल ध्यान जानुपर्‍यो अन्यथा क्वारेन्टाइनहरु सम्हाल्न गाह्रो हुन्छ ।’जिल्लामा करिब ६५ सय जना क्वारेन्टाइनमा रहेका र अनुमानित चार हजार जनाको पीसीआर परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । मुम्बई र महाराष्ट्रबाट आएकाको पीसीआर नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।            

         सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज मंगलबार बिहान ५ बजेसम्म फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।उनीहरुको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने उहाँको भनाई छ । कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६