परासी, १४ जेठ । पश्चिम नवलपरासीमा भिटिएम अभाव भएपछि क्वारेन्टाइनमा बस्नेहरुको आरडीटी परीक्षण गरेर घर पठाउने तयारी गरिएको छ । जिल्लामा हरेक दिन क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो छ । सरकारले क्वारेन्टाइनमा बस्नेको संख्या अनुसार भिटिएम पठाउन नसकेपछि आरडीटी परीक्षण गरेर नेगेटिभ आउनेलाई घर पठाउनुको विकल्प नरहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनु भयो ।
मंगलबार दिउँसोसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या ९ सय २१ पुगेको छ । प्रदेश सरकारले भने २ सय ८० भिटिएम पठाएको छ । करिब ६ सय ५० भिटिएम अपुग छ । सरकारले पठाएको भिटिएम जिल्लाका ७ स्थानीय तहमा ४० का दरले पठाएकोले संख्या अनुसार पीसीआर परीक्षण गर्न नसकिने ढकालले बताउनु भयो ।
भिटिएम अभाव भएपछि १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी विधिबाट परीक्षण गर्ने र नेगेटिभ आए घर पठाउने निर्देशन भएकाले सोही अनुसार परीक्षण गरेर घर पठाउनुको विकल्प नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आरटीडी विधिबाट गरिने परीक्षण विश्वासिलो छैन । पीसीआर नगरी आरडीटी गरेर घर पठाउँदा समुदायमा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले बिरोध गर्न थालेका छन् ।
प्रतिक्रिया