अर्थ-वाणिज्य

सिमेन्ट उद्योगहरुमा कच्चा पदार्थ अभाव



भैरहवा, १४ जेठ । लामो समयको लकडाउनका कारण ढुवानीमा समस्या आउँदा सिमेन्ट उद्योगहरुमा कच्चा पदार्थको अभाव हुन थालेको छ । सिमेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा, क्लिङ्कर जस्ता पदार्थको अभाव भएको उद्योगीहरुले बताएका छन् । विशेषगरी ढुवानी अवरोधका कारण उद्योगलाई चाहिने चुनढुङ्गा र क्लिङ्कर उद्योगसम्म पुग्न सकेको छैन ।

              चैत ११ गते बन्दाबन्दी घोषणा भएसँगै उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति भएन । केही दिनअघि सरकारले सिमेन्ट उद्योगलाई अत्यावश्यक उद्योगको सूचीमा राख्दै सञ्चालन गर्न अनुमति दिएपनि कोरोनाको बढ्दो संक्रमणले कच्चा पदार्थ ढुवानीमा समस्या आएको हो ।यो समय उद्योग नियमित सञ्चालन मात्र नभई आगामी असोजसम्मका लागि आवश्यक कच्चा पदार्थ संकलन गर्ने समय भएको सिमेन्ट उद्योगहरुको छाता संगठन सिमेन्ट उत्पादक संघ रुपन्देहीका अध्यक्ष क्रृषिकेश अग्रवालले बताउनुभयो । 

        पूर्णतया कच्चा पदार्थ, मजदूर र ढुवानीमा निर्भर सिमेन्ट उद्योग लामो समयको बन्दले आगामी दिनमा झनै समस्यामा पर्ने उहाँले बताउनुभयो । “बन्दाबन्दी खुलेपछि भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था आएको छ, यसबाट लागत वृद्धिसँगै सिमेन्टको मूल्यवृद्धि हुने देखिन्छ”–अग्रवालले भन्नुभयो । क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग प्रालिका सञ्चालक राजेश अग्रवालले बन्दाबन्दीकै दौरान सरकारले उद्योग सञ्चालन गर्न सूचीत गरेपनि जिल्ला जिल्लाका स्थानीय तह र प्रहरी प्रशासनबीच आपसी तालमेल नहुँदा ढुवानी हुन नसकेको बताउनुभयो । 

            उहाँका अनुसार अर्घाखाँची सिमेन्टले वार्षिक आठ लाख टन क्लिङ्कर उत्पादन गर्दै आएको छ । हाल बन्दाबन्दीका कारण ढुवानी नहुँदा आवश्यक मासिक ७०–८० हजार टनका दरले तीन–चार महिनाको लागि क्लिङ्कर आयात गर्नुपर्ने हुन्छ । “क्लिङ्कर उत्पादन गर्ने सबै उद्योगीले क्लिङ्कर आयात गर्नुपर्नेछ । नेपालमा वार्षिक ८० लाख टन सिमेन्ट खपथ हुन्छ, यहाँका उद्योगीले हाल करिव सात–आठ लाख टन क्लिङ्कर भारतबाट आयात गर्नुपर्छ । यसबाट अरवौं बजेट भारत जान्छ”–उहाँले भन्नुभयो ।

            चैत, बैशाख र जेठमा भएको बन्दाबन्दीले सिमेन्ट उद्योग दोहोरो मारमा परेको जगदम्वा सिमेन्ट उद्योगका महाप्रवन्धक विदुर ढुंगानाले बताउनुभयो । “बन्दाबन्दीका कारण एकातर्फ उद्योग सञ्चालन हुन पाएनन्, अर्कोतर्फ पछिको लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि स्टक गर्न सकिएन, जसले गर्दा सिमेन्ट उद्योगहरु दोहोरो मर्कामा परेका छन्”–उहाँले भन्नुभयो ।”

            नेपाल अम्बुजा सिमेन्ट उद्योगका सञ्चालक हेमन्तकुमार अग्रवालले समयमा चुनढुङ्गा उद्योगसम्म नपुग्दा भारतबाट आयात गर्न बाध्य हुनुपर्ने बताउनुभयो । “उद्योग तराइमा, कच्चा पदार्थ पहाडमा छ, अवको केही दिन वर्षाको कारण पहाडबाट चुनढुङ्गा ल्याउन मिल्दैन, त्यसैले यसवर्ष भारतबाट आयात गर्नुको विकल्प देखिंदैन”–उहाँले भन्नुभयो–“भारतबाट आयात गर्दा महंगो पर्छ र लागत बढेसँगै सिमेन्टमा प्रतिबोरा एकसय रुपियाँसम्म मूल्यवृद्धि हुन सक्छ ।” हाल सबै उद्योगमा क्लिङ्कर सकिएको र सबै उद्योगले भारतबाट माग समेत गरिसकेको अग्रवालले बताउनुभयो । रुपन्देहीमा मात्रै एक दर्जन भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीन उद्योगले क्लिङ्कर उत्पादन गर्दै आएका छन् । त्यसैगरी देशभर ६० भन्दा बढी सिमेन्ट उद्योग र दर्जन बढी क्लिङ्कर उद्योग रहेका छन् ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६