एजेन्सी, १५ जेठ । कोरोना भाइरस महामारीको कहरले विश्वभर ५७ लाख ८८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८८ हजार ७३ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५७ हजार ४०० पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये २४ लाख ९७ हजार १४० जना संक्रमण मुक्त भएका छन् । २९ लाख ३३ हजार ५३३ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६ सय बढीको मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २८ हजार बढीको मृत्यु भएको छ ।
कोरोना भाइरसले विश्वमै सबैभन्दा बढी चपेटामा अमेरिका परेको छ । महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०३ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र नै डगमगाएको छ ।
प्रतिक्रिया