ब्रेकिंग न्युज

रोगभन्दा भोकको चिन्ता



सन्धिखर्क १६ जेष्ठ ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– २ कुरकी  ७० वर्षीया पुतला नेपाली दिनभर गिट्टी कुटेर जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँलाई कोरोना रोगको भन्दा छाक कसरी टार्ने भन्ने चिन्ता छ ।  सन्धिखर्क –९ पाथ्राबांग निवासी ५३ वर्षीया एकल महिला झुम्की विकलाई पनि बन्दाबन्दीका समयमा कसरी दैनिक गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । 

         अन्य समयमा अरुका घरमा गएर दैनिक मजदूरी गरेर दुई छाक जुटाउने विकले बन्दाबन्दीपछि कसैका घरमा काम पाउनुभएको छैन । काम नपाएपछि उहाँले सन्धिखर्क, अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गर्नुभएको छ । दिनभरि कुटिएको गिट्टी बेचेर बिहानबेलुकाको छाक टार्ने गरेको उहाँको भनाइ छ ।  “घरमा गर्र्ने अरु कोही छ्रैनन्, कसरी खाने भन्ने समस्या छ”, उहाँले भन्नुभयो, “छोराहरु साना छन् । कतै केही काम पाइँदैन । यही ढुङ्गा फोरेर परिवार पालेकी छु । ”

                 सरकारले कोरोनाबाट बच्नका लागि बन्दाबन्दी गरेसँगै गरीब तथा अतिविपन्न परिवारमा भोकको चिन्ताले सताएको छ । उनीहरुलाई रोग सर्छ, बाहिर जानु हुँदैन भन्ने थाहा भए पनि छाक टार्न काम नगरी नहुने बाध्यता छ । पुतला र झुम्की मात्र होइन पाथ्राबांगकै कमला विकको पनि समस्या उस्तै छ । रोजगारीका लागि भारतमा गएका श्रीमान् तीन महिनादेखि  बेकामे भएर बसेपछि कमलालाई परिवार पाल्न समस्या भएको छ ।“श्रीमान्ले पठाएको पैसाबाट घरपरिवार चलेको थियो, उताबाट पैसो आउन पनि छाड्यो, केही सीप नचलेपछि बाटोमै बसेर गिट्टी कुट्ने गरेकी छु ” , कमला भन्नुहुन्छ ।

          अन्य समयमा काम पाउन सजिलो भए पनि कोरोना संक्रमणका कारण घरायसी काम नपाएको उहाँको भनाइ छ।“बाहिर निस्कनु हुँदैन भन्ने पनि थाहा छ  तर ननिस्किए खान पुग्दैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले दिएको चामल खाएर सकियो । अब त कसैले दिँदैन, गिट्टी कुटेर यही बेची रासन खाएकी छु ।” गरीब तथा अतिविपन्न परिवारलाई स्थानीय तहले राहत वितरण गरेको छ तर छाक टार्न पर्याप्त नभएको उनीहरुको गुनासो छ ।

             बन्दाबन्दीले दुई महिना नाघिसकेको छ । स्थानीय तहले  यस अवधिमा ३० केजी चामल, केही दाल र अन्य सामग्री वितरण गरे पनि परिवारको गुजारा चलाउन  अपुग भएको कमलाको भनाइ छ । पालिकाले वितरण गरेको राहत अधिकांश परिवारमा १५ दिनमै सकिएको विपन्न परिवार बताउँछन् । 

             सम्पन्न र धनी परिवारले समेत राहत पाउनुपर्ने माग गरेपछि  भूमिकास्थान नगरपालिकाले  हालसम्म राहत बाँड्न सकेको छैन ।  बन्दाबन्दी भएको दुई महिना बितिसक्दा समेत राहत वितरण नभएपछि  पालिकाका गरीब तथा विपन्न परिवार झनै समस्यामा परेका छन् । भूमिकास्थानका दश वटा वडामा रहेका दैनिक मजदूरी र अतिविपन्न घरपरिवारलाई राहत वितरण नहुँदा उनीहरु भोकै बस्न बाध्य छन् । 

               जिल्लामा हालसम्म चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरिएको छ ।  कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि  झण्डै पाँच  हजार घरपरिवारमा राहत वितरण गरिएको स्थानीय तहका प्रमुखले जिकिर गरेका छन्  हालसम्म पालिकामा २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल र सात हजार १४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६