परासी, १८ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा गरिएको आरटिडी परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका ८ स्थानमा क्वारेन्टाइन छन् । तिमध्ये ७ वटा क्वरोन्टाइनमा रहेका ९१ जनामा गरिएको आरटिडी परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
पोजेटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाण्डौं पठाइएको छ । अरुलाई घर पठाउन थालिएको छ । सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ६९ छ । पीसीआर परीक्षण गर्न जिल्लामा भिटिएम नभएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आरटिडी परीक्षण नेगेटिभि आएपछि घर पठाउने गरिएको छ ।
“सरकारले १४ दिन पूरा गरेकालाई आरटिडी गरेर घर पठाउन भनेको छ । सोही निर्देशन अनुसार नेगेटिभ आएकालाई घर पठाउन थालिएको ढकालले उल्लेख गर्नुभयो । पीसीआर परीक्षण नगरी घर पठाउँदा गाउँलेले बिरोध गर्न थालेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । “भिटिएम छैन । १४ दिन पूरा भएकाहरुले घर नपठाए भागेर जान्छौं भनेर धम्की दिन्छन, पठायो पीसीआर नगरी घर पठाएको भन्दै गाउँले बिरोध गर्छन् ”अध्यक्ष पाण्डेले गुनासो गर्नुभयो ।
सरकारले भिटिएम नपठाउँदा स्थानीय तहहरु समस्यामा परेको उहाँले बताउनु भयो । यसअघि सुस्ता गाउँपालिकामा गरिएको पिसीआर परीक्षणमा दुईजनामा पोजेटिभ देखिएको थियो । अहिलेसम्म जिल्लामा ५ जना कोरोना संक्रमित छन् । आजसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १४ सय ८ छ । क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् । जिल्लामा हरेक दिन भारतबाट आउनेको संख्या बढ्दो छ ।
प्रतिक्रिया