शिक्षा

खुल्ला आकाश मुनी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु



पाल्पा १९ जेष्ठ । सहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ।स्कुल पनि जान नमान्ने आफ्ना नानीबाबुहरूलाई मोबाइल कम्प्युटरका स्क्रिनअगाडि घन्टौं बसाइराख्नु पर्ने सकस उनीहरूलाई छ।सहरमा पो घरघरमै इन्टरनेट छ र अनलाइन क्लास छ। विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन्।लकडाउनका बेला दूरदराज विद्यार्थी अनलाइन क्लासबाट पढ्दैनन्। किनकी उनीहरूलाई अनलाइन पढाउन न निजी विद्यालयले जस्तो कसैले पहल गर्छ न त उनीहरूका बुवाआमाले घरमै बिजुली र इन्टरनेट जोड्न सक्छन्।

          उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र सुरू गरिने बताएका थिए। प्रधानमन्त्रीले भनेको भर्चुअल माध्यमको नयाँ शैक्षिक सत्र कहिलेबाट सुरू हुने हो टुंगो छैन। सुरू नै भइहालेछ भने पनि अधिकांश विद्यालयले त्यो लागू गर्न सक्ने छैनन्।त्यही ठानेर होला इन्टरनेट पहुँच नभएको पाल्पाको रैनादवी छहरा गाउँपालिका २ को एक विद्यालयले नयाँ शैक्षिक सत्रको पठनपाठन आफ्नै तरिकाले सुरू गरिसकेको हो।विद्यार्थीहरू खुला आकाशमूनि स्याउला ओछ्याएर सामाजिक दूरी कायम गरेर बस्छन्। शिक्षकहरू पालैपालो गएर उनीहरूलाई पढाउँछन्।

           दिगस्थित भगवती आधारभूत विद्यालयले यसरी विद्यार्थी पढाउन थालेको चार दिन भइसक्यो।यो विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि एक सय जना भर्ना भएका छन्। उनीहरूलाई किताब वितरण गरिसकिएको प्रधानाध्यापक अच्युतराज पौडेलले सेतोपाटीलाई जानकारी दिए।‘भिन्नभिन्न कक्षाका विद्यार्थीलाई फरक फरक दिनमा विद्यालय बोलाएर किताब बाँडेका हौं,’ उनले भने।सरकारी विद्यालयका विद्यार्थीलाई सरकारले निस्शुल्क किताब दिन्छ।किताब पनि बाँडिसकेको र इन्टरनेटबाट पठनपाठन सम्भव नभएकोले सामाजिक दूरी कायम गरी समूह(समूह बनाएर पठनपाठन गर्ने निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेको उनले जानकारी दिए।‘एउटा समूहमा २० जना विद्यार्थी छन्।

             पाँच वटा समूह र केही समूहका उपसमूह बनाएर पनि विद्यार्थीलाई पढाउन सुरू गरेको हो,’ उनले भने, ‘एक जना शिक्षकले एक समूहलाई पढाउनुहुन्छ।’दिनमा तीन घन्टाका दरले विद्यार्थीलाई नै पायक पर्ने ठाउँ टोलटोलमा गएर पठनपाठन सुरू गरेको उनले बताए।‘हाम्रो निम्न माध्यमिक विद्यालय हो। निमाविमा सरकारी दरबन्दी शुन्य छ। हामी पाँच जना सरकारी शिक्षक छौं,’ उनले भने, ‘एक शिक्षकले एक विद्यार्थी समूहलाई पढाउनुहुन्छ। कहिलेकाहीँ शिक्षक रोटेसन पनि गर्ने तयारी छ।’सरकारी तलब खानेबाहेक निजी स्रोतका शिक्षकलाई अहिले परिचालन नगरिएको उनले बताए।‘विद्यार्थीहरू खेलेरै बस्ने भए।

             यहाँ रोगको प्रकोप पनि अहिलेसम्म छैन,’ उनले भने, ‘टोलटोलमा गएर खुला ठाउँमा सामाजिक दूरी कायम गरी पठनपाठन गरेका हौं।’विभिन्न कक्षाका विद्यार्थी समेटेर समूह बनाइएको उनले बताए। चौरमा राखेर पढाउँदा हावाहुरी र पानी पर्दा समस्या हुने गरेको प्रअ पौडेल बताउँछन्।‘शौचालय, खानेपानी पनि समस्या छ। हावाहुरी आयो भने पनि विद्यार्थीलाई कहाँ लैजाने हुन्छ,’ उनले भने, ‘विद्यालयमै पढाउने कि भन्ने पनि छलफल भएको हो। तर क्वारेन्टाइन बनाउने भनेका छन्। त्यही भएर खाली गरिदिएका छौं।’उनले कोरोनाको त्रास र लकडाउन नखुलेसम्म कम्तिमा खुला ठाउँमै पठनपाठनलाई निरन्तरता दिने बताए।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६