जाजरकोट, २० जेठ । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागार्इंको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् । “दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”, नवराजका बुवा मुनलाल विकले भन्नुभयो, “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाउन् ।
”स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भन्नुभयोे, “हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छाँै । यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ । स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ । सरकारलाई दिन्छौँ । हाम्रो खबरदारी निरन्तर जारी रहने छ ।” यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिक्रिया