बरवा,२० जेठ । आज मंगलबार जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गरी कपिलवस्तुमा लकडाउन खुकुलो पारेको छ । प्रशासनको सूचना अनुसार कपिलवस्तुमा अति आवश्यक खाद्यान्न पसलसंगै निर्माण सामग्री ढुवानीमा व्यवसायलाई अनुमति प्रदान गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिको बैठकले पसलहरु खोल्ने समयमा भने परिवर्तन गरेको छ । जिल्लामा अति आवश्यक खाद्यान्न तथा निर्माण सामग्री बेच्ने पसल विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म मात्र खुल्ने छन् । यस अघिविहान ७ः०० देखि ९ः०० बजेसम्म पसलहरु खुल्दै आएका थिए ।
यस्तै बैंकहरुले जोर र विजोरका आधारमा ६ दिन नै ग्राहकलाई सेवा दिनुपर्ने भएको छ । निर्माण सम्बन्धी उद्योगहरु, विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगहरु, खाद्य सामाग्री उत्पादन गर्ने उद्योगहरु र राष्ट्रिय गौरवका आयोजनाहरु समेत जिल्ला प्रशासनको अनुमति लिई संचालन गर्न सक्ने प्रशासनको सूचनामा उल्लेख छ । यो निर्णय मध्यरातबाट लागू हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया