ब्रेकिंग न्युज

अवस्था हेरेर लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी



काठमाण्डौ २३ जेष्ठ । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याए पनि बजारमा पहिलेभन्दा चहलपहल बढेको छ । प्रहरीले पहिलेजस्तो कडाई गरेको पनि छैन । लकडाउन खुकुलो बनाउनुपर्ने माग उठिरहेको छ । तर कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढ्दै जाँदा लकडाउन कसरी खुकुलो बनाउने भन्नेबारे सरकार आफैं अन्योलमा छ । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल भैरहे पनि सरकारले यसबारे निर्णय गरिसकेको छैन ।

           बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने गरी मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।समितिले यसबारे विज्ञसँगको छलफललाई तीव्रता दिएको छ । विज्ञहरुले नेपालमा कोरोनाकाल लामो समयसम्म रहन सक्ने भएकाले स्वास्थ्य सम्बन्धी नियमको पालना गरी आर्थिक गतिबिधि बढाउन सुझाव दिएका छन् । प्राप्त सुझावको आधारमा सङ्क्रमणको अवस्था हेरेर लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल भैरहेको छ ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सहित गृह र स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न संयन्त्रले गृहकार्य अगाडि बढाएका छन् ।

            अरु देशले अहिले चालेका कदमलाई आधार बनाएर नेपालीपन दिने हिसाबले काम भैरहेको स्रोतले जनाएको छ । सबै ठाउँमा एकैपटक लकडाउन खोल्दा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने निश्कर्षसहित विभिन्न चरणमा गरी बिस्तारै खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भैरहेको उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिएका छन् ।सङ्क्रमण नदेखिएका र जोखिम कम भएका ठाउँबाट लकडाउन खुकुलो बनाउँदै लैजानेबारे छलफल भैरहेको हो । 

            अहिले जस्तो सबै जिल्लामा एउटै ढाँचामा लकडाउन अब नहुने ती सदस्यको भनाई छ । उदाहरणका लागि उदयपुरको भुल्के, बाँकेको नरैनापुरलाई आधार मानेर सिङ्गो जिल्ला र अरु ठाउँमा पनि उस्तै रणनीति अपनाउन नहुने निश्कर्षमा सरकार पुगेको ती सदस्यले बताएका छन् ।कोरोना सङ्क्रमण देखिएको ठाउँमा जटिलता अध्ययन गरी रातो, पहेँलो र हरियो क्षेत्र कायम गर्ने तयारी छ । जहाँ सङ्क्रमण बढी देखिएको छ, त्यहाँ रातो अर्थात रेड जोन घोषणा गरिनेछ । रेड जोनमा अवस्था फेरिएपछि बिस्तारै पहेँलो र सामान्य भैसकेपछि हरियो क्षेत्र घोषणा हुनेछ ।

            सङ्क्रमण नघटेमा रेड जोन कायमै रहनेछ । सङ्क्रमित घट्दै गए पहेँलो हुँदै हरियो क्षेत्र कायम गरेपछि अरु गतिविधि सुरु हुनेछन् । उच्चस्तरीय समितिले आज र भोलि छलफल गरी लकडाउनको नयाँ स्वरुप तयार पार्नेछ । उच्चस्तरीय समितिले कार्ययोजना बुझाएर मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै कार्यान्वयन हुनेछ । हिजोको बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावका विभिन्न पक्षमा छलफल भएको थियो । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्नेमा जोेड दिएका थिए ।

स्रोत : उज्यालो अनलाईन

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६