अर्थ-वाणिज्य

वर्षा लागिसक्यो युरिया र डिएपी पाएनन् किसानले



बुटवल, २५ जेठ । रुपन्देहीका किसानहरुले वर्षा लागिसक्दा पनि डिएपी र युरिया मल नपाएको भन्दै तत्काल मल उपलव्ध गराउन माग गरेका छन । कृषक संघर्ष समितिले किसानलाई आवश्यक रासायिनक मल डिएपी र युरिया जेठ मसान्तसम्ममा उपलब्ध गराउन माग गरेको छ । समितिले धानखेतीको लागि उन्नत जातका बिउबिजन कृषकको गाउँघरमै सुपथ मूल्य वा ५० प्रतिशत अनुदानमा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

        देशभरीको ७७ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय, सातवटै प्रदेशका कृषि मन्त्रालय, सम्पूर्ण स्थानीय तह र कृषक समुदायमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनलाइनमार्फत ज्ञापनपत्र बुझाउँदै खेतीपाती गर्न आवश्यक कृषि औजार तथा त्यसलाई चलाउन चाहिने इन्धन गाउँमै उपलब्ध गराउन समेत माग गरेको हो । त्यस्तै समितिले यही जेठ २८ गते परेको राष्ट्रिय कृषक दिवसको दिन कृषकलाई सम्मान गर्ने कार्यक्रम सामाजिक दुरी कायम राखी गर्ने जनाएको छ ।

        लकडाउनका कारण किसानलाई आवश्यक खाद्य उत्पादन सहयोगी वस्तुको व्यवस्थापन हुन नसकेकोले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको कृषक संघर्ष समिति नेपालका अध्यक्ष देव धवलले बताउनु भयो ।

        समितिले उठाएको माग सम्बोधन नभए कृषक समुदायले स्थानीय तहमा प्रदर्शन तथा धर्ना दिने तथा सम्बन्धित निकायमा तालाबन्दी गरी आमरण अनसन गर्न समेत बाध्य हुने चेतावनी धवलले दिनुभयो । यसैबीच समितिले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले समितिले उठाएको माग जायज रहेको र गाउँपालिका किसानहरुको समस्याप्रति गम्भिर रहेको बताउनु भयो । उहाँले संघीय सरकार र प्रदेश सरकारले पनि किसानको समस्याप्रति चासो राख्दै समाधानतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६