प्रदेश

बुटवलमा आएर कोरोना जित्नेहरु ! एकैदिन नौजना भए डिस्चार्ज



बुटवल, जेठ २५ ।

बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो ।
कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गर्नुभयो । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताउनुभयो । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उहाँले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह गर्नुभयो ।
त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वोरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका  सामग्री प्रदान गर्नुभएको थियो । 
आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए । त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन् ।
उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वोरो देखिएपनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेशनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन् । दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए । कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् ।
अब आइसोलेशनमा ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ । सम्भवत आइतबार बेलुका नै वा सोमबार स्वाब संकलन गरेर पठाउने गरि तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।
आइसोलेशन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेकजाँच गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेशन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिनुभयो ।
समुदायमा सचेतना दूत बन्न आग्रह
डिस्चार्ज हुनेहरुलाई विदाई गर्दै प्रमुख सुवेदीले उच्च मनोबल कायम राख्ने र समुदायमा सचेतना दूतका रुपका काम गर्न आग्रह गर्नुभयो । ‘तपाइँहरुको उच्च मनोबलले समुदायमा रहेका अरुलाई पनि प्रेरणा मिल्ने छ, अब समुदायमा फर्केर स्वनियममा बस्न र सजग राख्न सचेतना दूतका रुपका काम गर्नुहोला’ प्रमुख सुवेदीले भन्नुभयो । प्रमुख सुवेदीले आइसोलेशन सेन्टरमा सिकेको योगा, ध्यान र आहारविहारलाई नियमित राख्दै परिवार, टोल र सिंगो समुदायमा सचेतना दूतका रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।
सात्विक भोजन र मनोबल उच्च भएपछि कोरोना जितियो
सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको बताउँदै कपिलवस्तुको बाणगंगा–५ का वडाअध्यक्ष भिष्मराज भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताउनुभयो । उहाँलाई संक्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफै स्कुटी चलाएर बुटवल आउनुभएको थियो । ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो, तर यहाँआएपछि यहाँको वातावरणले सबै तनाव मुक्त बनायो’ वडाअध्यक्ष भुसालले भन्नुभयो, मनोबल उच्च राख्ने र सन्तुलित आहार विहार गर्ने हो भने कोरोना जितिँदोरहेछ ।’

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६