ब्रेकिंग न्युज

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द



भक्तपुर २६ जेष्ठ । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।   

                   मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिनुभयो । उहाँले अस्पतालमा भने विशेष सजगता अपनाएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उहाँले जानकारी दिनुभयो । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६