काठमाडौं, २८ जेठ । लकडाउनको स्वरुप बारे आवश्यक छलफल गरी निर्णय गर्न आज अपराह्न २ः०० बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । देशभर साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।
लकडाउन जारी रहँदा पनि संक्रमण नघटेको तथा जनजीवन कष्टकर भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न सरकारलाई दबाब पर्दै गएको छ । लकडाउनको स्वरूप परिवर्तन नभइकनै देशका विभिन्न स्थानमा बजार पसल खुल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ । लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गर्नुभएको थियो ।
चैत्र ११ गते सुरू गरिएको लकडाउनकै अवधिमा कोरोना संक्रमितको संख्या ४ हजार पार गरेको छ । लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ जसले आम मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया