सुर्खेत २८ जेष्ठ । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए । बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिनुभयो ।
बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी नभएको निर्देशक डा खड्काले बताउनुभयो । “बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराए र उपचार गर्न लगाए”, उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेको र कोरोना सङ्क्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार चिकित्सकमा अहिले आतङ्क फैलिएको छ ।”उहाँले भन्नुभयो, “बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ । उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सक पनि पिपिइ सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिँदा उपचारमा संलग्न चिकित्सकले सामान्य तरिकाले उपचार गर्नु भएछ ।
”निर्देशक डा खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुनसक्ने चेतावनी दिनुभएको छ । क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उहाँले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुपर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकार गर्नुभएको छ । बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना सङ्क्रमण फैलिने सम्भावना छ ।
प्रतिक्रिया